३ मंसिर, काठमाडौं ।
नेपाल भ्रमणमा रहेका भारतीय योगगुरु बाबा रामदेव र आचार्य बालकृष्णले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।
खुमलटार पुगेर उनीहरूले प्रचण्ड पत्नी सीताको स्वास्थ्यवस्थाका बारेमा जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना गरेका छन्। प्रचण्डको निजी सचिवालयका अनुसार दुवै योग गुरु र प्रचण्डबीच समसामयिक विषयमा संवादसमेत भएको थियो।
रामदेव र बालकृष्ण योग अध्यात्म सम्बन्धी टेलिभिजन उद्घाटनका लागि नेपाल आएका हुन्।
त्यस्तै रामदेवले काठमाडौंको चन्दागिरी डाँडामा बसेर योग प्रशिक्षण तथा योग ध्यान गर्ने भएका छन्। पतञ्जली योगपीठको कार्यक्रममा भाग लिन बिहीबार नेपाल आएका रामदेवले शनिबार बिहान चन्द्रागिरि डाँडाको स्वच्छ वातावरणमा योग ध्यान तथा योग प्रशिक्षण दिन लागेका हुन्।
रामदेवले शनिबार बिहान ५ देखि ६ बजेसम्म चन्द्रागिरि डाँडाको स्वच्छ वातावरणमा योग, ध्यान गर्नुका साथै त्यहाँ उपस्थित मानिसलाई योग सिकाउने कार्यक्रम तय गरिएको चन्द्रागिरि हिल्स लिमिटेडले जनाएको छ।