विप्लवलाई माओवादी केन्द्रको महासचिव बनाउने तयारी !

जागृति खबर संवाददाता

३ मंसिर, काठमाडौं ।

२०५२ साल फागुनबाट सशस्त्र युद्धमा होमिएको माओवादी ०६२–०६३ सालको जनआन्दोलनपछि शान्तिपूर्ण राजनीतिमा आयो । ०६४ सालको निर्वाचनमा सबैभन्दा ठूलो दल बन्यो । तर ०७० सालको अर्को निर्वाचनमा जसरी ०६४ मा माओवादीको बाढी आएको थियो त्यसरी नै कमजोर बन्यो । माओवादी तेस्रो दलको हैसियतमा खुम्चियो ।

०७० सम्म आइपुग्दा माओवादी पार्टीभित्र नेताहरुबीच अन्तरविरोध व्यापक बनिरहेको थियो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको माओवादी युद्धमा हुँदा उनका प्रमुख सहयात्री थिए मोहन वैद्य, सीपी गजुरेल, बाबुराम भट्टराई, रामबहादुर थापा, पोष्टबहादुर बोगटी, कृष्णबहादुर महरा, नेत्रविक्रम चन्द ‘विप्लव’, जनार्दन शर्मा र वर्षमान पुन । यी नेताहरुको मुख्य भूमिकामै प्रचण्डले प्रचण्ड हैसियत बनाए ।

तर शान्ति प्रक्रियामा अवतरण भएपछि माओवादी विभाजनको यात्रा अघि बढ्यो । पछिल्लो एक दशकमा प्रचण्ड राजनीतिको केन्द्रमा रहे पनि उनले नेतृत्व गरेको पार्टी सबैभन्दा बढी विभाजित भएको छ ।

युद्धकालका प्रमुख सहयात्री बाबुराम भट्टराई, प्रचण्डकै गुरु मानिने मोहन वैद्य, रामबहादुर थापा, कुनैबेला प्रचण्डका उत्तराधिकारीका रुपमा हेरिएका विप्लव उनीसँग छैनन् । उनीहरु छुट्टाछुट्टै पार्टीमा छन् ।

पछिल्लो आठ वर्षमा माओवादी यस्तो अवस्थामा पुगेको छ कि माओवादी एक्लै चुनावी प्रतिस्पर्धामा जाने हैसियत पनि राख्न नसकेको राजनीतिक विश्लेषक नै बताउँछन् ।

प्रचण्डले पछिल्ला तीन महिनायताका हरेक भाषणमा चुनावमा सत्ता गठबन्धन मिलेर जाने बताइरहेका छन् ।

तर माओवादी पार्टीभित्रको राजनीतिक समीकरण पनि पछिल्लो समय फेरिँदो छ । प्रचण्ड देश दौडाहामा छन् । केही समयपछि माओवादीको महाधिवेशन पनि नजिकिँदो छ । अहिलेकै अवस्थामा प्रचण्ड फेरि माओवादी अध्यक्ष हुने निश्चित छ । तर प्रचण्डपछिको उत्तराधिकारी को हुन्छ भन्ने चासो सर्वत्र छ ।

झन्डै ३० वर्ष माओवादीको नेतृत्वमा रहेका प्रचण्डको उत्तराधिकारी को हो त ? पछिल्लो समय जनार्दन शर्मा र वर्षमान पुनलाई पार्टीमा उनीपछिको नेता हेरिएको छ । तर कृष्णबहादुर महराको पछिल्लो सक्रियताले जनार्दन र वर्षमानको सपनामा ब्रेक लगाउने गरी काम भइरहेको माओवादीकै नेताहरु बताउँछन् ।
प्रतिष्पर्धी तर आपसमै मिल्दैनन् जनार्दन र वर्षमान

नेकपा माओवादी केन्द्रमा पछिल्लो समय तीन गुट छन् । एक गुटको नेतृत्व नारायणकाजी श्रेष्ठले गर्छन् भने बाँकी दुई गुटको नेतृत्व जनार्दन शर्मा र वर्षमान पुनले गर्छन् । शर्मा र पुनको तुलनामा श्रेष्ठको गुट कमजोर छ । उनको देशव्यापी गुट छैन ।

माओवादीकै नेताहरु भन्छन्,“नारायणकाजीले पार्टीभित्र भागवण्डाका लागि गुट बनाएका हुन् । उनको प्रभाव पार्टी संगठनमा छैन । प्रचण्डले चाहेसम्म उनले अवसर पाइरहन्छन् । यतिमात्रै हो ।”

युद्धकालीन नेता जनार्दन र वर्षमानको देशव्यापी गुट छ । दुवै प्रचण्डका प्रिय हुन् । जनस्तरमा जनार्दनको प्रभाव छ भने पार्टी संचरनामा वर्षमान हावी देखिन्छन् ।

उनीहरुलाई नजिकबाट चिन्ने माओवादीकै नेताहरु भन्छन्,“वर्षमान निकै कुटनितिक छन् । उनले प्रचण्डलाई के मन पर्छ त्यही गर्छन् । तर जनार्दन हक्की स्वभावका छन् । उनी माओवादीभित्र प्रचण्डसँग सवाल–जवाफ गर्ने नेता हुन् । अरुले प्रचण्डको आलोचना गर्ने हिम्मत नै गर्दैनन् ।”

तल्लो तहसम्म यी दुवै नेताको गुट छ । विभिन्न जनवर्गीय संगठनमा दुवै नेताको प्यानल नै बन्ने गरेको छ । माओवादी र एमालेको एकता हुनुअघि अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा जनार्दनको लाइनबाट उनकै भाई अनिल शर्मा र वर्षमानको लाइनबाट रञ्जित तामाङ चुनावी मैदानमा उत्रिएका थिए । शर्मा हारे तामाङले जिते । यतिमात्रै होइन हरेकजसो संगठनमा यी दुई नेताको लाइन छ ।

माओवादी कमजोर बन्दै गएको समयमा एमाले र माओवादीबीच चुनावी गठबन्धन बन्यो ।

०७५ जेठ ३ मा एमाले र माओवादीबीच पार्टी एकता भएर नेकपा जन्मियो । झन्डै दुई तिहाई मत एमाले–माओवादी गठबन्धनले ल्यायो । केपी ओलीले संसद् विघटन गरेपछि नेकपामा विवाद बढ्दै गयो । अन्ततः सर्वोच्च अदालतले ०७७ फागुन २३ गते एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काइदियो ।

नेकपा विघटनपछिको माओवादीमा महत्वपूर्ण मानिने संगठन विभागको जिम्मेवारी अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मालाई दिइएको छ ।

वर्षमानलाई अर्थ तथा योजना विभाग प्रमुखसँगै केन्द्रीय कार्यालय इञ्चार्जको जिम्मेवारी दिइएको छ । यी दुवै विभाग माओवादीका महत्वपूर्ण विभाग हुन् ।

माओवादीमा अहिले प्रचण्डपछिको वरीयतामा नारायणकाजी श्रेष्ठ छन् । उनलाई प्रवास कमिटी इञ्चार्ज बनाउँदा पार्टी प्रवक्ताको जिम्मेवारी कृष्णबहादुर महरालाई दिइएको छ । कुनै समय माओवादीका प्रभावशाली नेता रहेका महरा यौ’नकाण्डमा मुछिएपछि सभामुखबाट राजीनामा दिनुपरेको थियो । १०३ दिन कारागारमा बसेपछि उनले सफाई पाए ।

माओवादीभित्रको आन्तरिक समीकरणमा वर्षमानको पकड बलियो मानिन्छ । तर पार्टीभित्रै उनीमाथि पनि बेला बेला प्रश्न नउठेका होइनन् । वर्षमानलाई पार्टीभित्र परिवार मोहमा फसेको आरोप पनि लाग्ने गरेको छ ।

पार्टीभित्र वर्षमान र जनार्दनको टसलका बेला महरा प्रभाव जमाउन सफल हुँदै गएको माओवादीकै नेताहरु बताउँछन् ।

महरा अहिले प्रचण्डका विश्वासपात्र समेत रहेको एक नेताको दाबी छ ।

विप्लवलाई भित्र्याएर महासचिव बनाउन चाहन्छन् महरा

विप्लव अहिले नेपाल कम्युनिष्ट पार्टीका महासचिव हुन् । युद्धकालीन समयमा माओवादीभित्र रवीन्द्र श्रेष्ठ, वर्षमान र विप्लवलाई प्रचण्डपछिका नेताका रुपमा हेरिन्थ्यो । कालान्तरमा रवीन्द्रले पार्टी छाडे । विप्लव र वर्षमान प्रचण्डसँगै रहे । तर प्रचण्डले वर्षमानलाई च्याप्दै गएपछि विप्लव उनीसँग टाढिए ।

पछि मोहन वैद्यसहित उनले प्रचण्डको पार्टीबाट विद्रोह गरे । विद्रोह गरेकामध्ये रामबहादुर थापा, पम्फा भुसाल, देव गुरुङलगायतको समूह फेरि प्रचण्डकै पार्टीमा फर्कियो । विप्लवले मोहन वैद्यको साथ छाडेर अर्को पार्टी गठन गरे नेकपा ।

विप्लव नेतृत्वको पार्टी हिं’सात्मक बाटोमा गएपछि तत्कालीन केपी ओली नेतृत्वको सरकारले ०७५ फागुनमा प्रतिबन्ध लगायो । प्रतिबन्धकै दौरान दर्जन बढी विप्लव कार्यकर्ता मारिए । एक हजार बढी पक्राउ परे । सो क्रममा उनी भूमिगत रहे ।

०७७ फागुनमा सरकार र विप्लवको पार्टीबीच सहमति भयो । उनी सार्वजनिक भए । विप्लवले प्रचण्डसँग सम्बन्ध विच्छेद गर्दा दर्जनौं आरोप लगाएका थिए । पछिल्लो समय उनले कतिपय राजनीतिक विषयमा जनमत संग्रहको माग गर्दै आएका छन् ।

विभाजनले परेको क्षतिको आकलन गरेरै हुन सक्छ प्रचण्ड बेलाबेला आफूसहित मोहन वैद्य, विप्लव र बाबुराम भट्टराई एकै ठाउँमा आउनुपर्ने बताउँदै आएका छन् । प्रचण्डको आह्वानमा बाबुराम खासै सकारात्मक देखिएका छैनन् । तर केही दिनअघि कैलालीमा पार्टीनिकट एक जनवर्गीय संगठनको कार्यक्रममा विप्लवले माओवादी केन्द्रसँग एकता हुनसक्ने संकेत गरे ।

विप्लवको त्यो संकेत त्यसै आएको भने होइन । जानकारहरु भन्छन्, “कृष्णबहादुर महराले विप्लवलाई महासचिव बनाएर माओवादी भित्र्याउन खोज्दैछन् । यसका लागि उनी सक्रिय छन् । प्रचण्डसँग पनि उनले यसबारे व्रिफिङ गरेका छन् ।”

विप्लव आउँदा महरालाई फाइदा

सभामुखबाट राजनीमा दिनुअघि माओवादीबाट सबैभन्दा बढी लाभ लिने नेता हुन महरा । त्यसपछि वर्षमान त्यो सूचीमा पर्छन । पटक–पटक मन्त्री, सांसद भइसकेका महरा यौन प्रकरणमा जोडिएपछि उनको राजनीतिक उचाई ह्वात्तै घट्यो । अहिलेकै अवस्थामा महराको पुरानो राजनीतिक उचाई स्थापित हुने सम्भावना देखिँदैन ।

महरा ०४८ सालमा नेकपा (मशाल) बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । महरा ०५३ सालमा माओवादी केन्द्रीय सदस्य बने । त्यसपछि महराले पछाडि फर्केर हेर्नुपरेन । सभामुख बन्नेबेलासम्म महरा पार्टीभित्र पनि शक्तिशाली थिए । ०६९ को एकीकृत नेकपा माओवादीको हेटौँडा महाधिवेशनबाट महरालाई प्रचण्डको उत्तराधीकारीको रुपमा विश्लेषण गरिएको थियो ।

प्रचण्डले त्यतिबेला बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलाई उपाध्यक्ष बनाएर पोष्टबहादुर बोगटीलाई महासचिव बनाए । तर माओवादीभत्र आर्थिक विचलनलगायतका आरोप माहरामाथि पहिलेदेखि नै लाग्दै आएका थिए । प्रचण्डको साथ पाएका महराले सधैँ उन्मुक्ति पाए ।

सभामुखबाट हटेपछि कारागार पुगेका महरा लामो समयदेखि औपचारिक कार्यक्रममा त्यत्ति देखिएका छैनन् । तर पार्टी प्रवक्ताको जिम्मेवारी पाएसँगै उनको सक्रियता बढेको छ । पार्टीभित्र महराको छुट्टै लाइन यतिबेला छैन । तर उनी फेरि शक्तिमा आउन विप्लवलाई महासचिव बनाउने लाइनमा लागेको पार्टीकै नेताहरु बताउँछन् । विप्लव महासचिव हुँदा महरा उपाध्यक्ष बन्नेछन् ।

विप्लव महासचिव बनाउँदा वर्षमान र जनार्दन कमजोर हुने विश्लेषण माओवादी भित्र छ । जसले महरालाई फाइदा पु¥याउने छ । विप्लव र महराको मित्रता पुरानै हो । युद्धकालदेखि नै महरा–विप्लव सम्बन्ध मित्रतापूर्ण थियो ।

माओवादीकै नेताहरु विप्लव महासचिव बन्ने अवस्था आए वर्षमान र जनार्दन एकठाउँमा उभिन सक्ने टिप्पणी गर्छन् । विप्लवको उदय रोक्नका लागि दुई नेताहरु एकै ठाउँमा उभिन सक्ने सम्भावना उनीहरु देख्छन् । हरेक प्रकारका उतारचढावमा वर्षमान र जनार्दनले प्रचण्डको साथ छाडेका छैनन् ।

माओवादीमा हालसम्म केन्द्रीय नेतृत्व निर्वाचनबाट आएको छैन । अहिलेकै अवस्थामा अझै पनि निर्वाचन हुने सम्भावना देखिँदैन । तर निर्वाचन हुने अवस्थामा प्रचण्डपछिको नेताहरुबीच रोचक प्रतिष्प्रर्धा हुनसक्ने एक नेताको टिप्पणी छ ।