रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको ज्यान गयो

रामेछाप खबर संवाददाता

२ मंसिर, रोल्पा ।

रोल्पाको माडी गाउँपालिका वडा नम्बर २ मा आज बिहीवार बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् ।

दुर्घटनामा तीन जना पुरुष र एक महिला गरी चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। ज्यान गुमाउनेको पहिचान भने खुलिसकेको छैन । घाइते ११ जनाको सुनिल स्मृति अस्पताल घर्ती गाउँमा उपचार भइरहेको छ।

दुर्घटनामा सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु
कोशी राजमार्गअन्तर्गत सुनसरीको इटहरी र धरानको बीचमा पर्ने सेउती खोलामा मोटरसाइकल दुर्घटना हुँदा गएराति एक सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा दूधकोशी गाउँपालिका– १ घर भई मोरङको डङ्गाहास्थित सशस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक सन्तोष बस्नेत रहेको प्रदेश–१स्थित ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिनुभयो ।

दक्षिणतर्फ जाँदै गरेको को १ व २४३८ नं को मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा सख्त घाइते बस्नेतको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको उहाँले बताउनुभयो ।

दुर्घटनामा ट्र्याक्टर चालकसहित दुईको मृत्यु
उदयपु्रगढी गाउँपालिका–६ दनुवारबेँसीमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका चालकसहित दुई जनाको मृत्यु भएको छ भने अन्य डेढ दर्जन व्यक्ति घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएका त्रियुगा नगरपालिका–९ गैरुन बस्ने ४० वर्षीय बौवा सदाको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा र ट्र्याक्टर चालक त्रियुगा नगरपालिका–१० करमगाछीका २० वर्षीय दिवस सार्कीको उपचारका क्रममा विटानगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

दुर्घटनामा गैरुनकै १६ वर्षीय सकुन सदासहित अन्य डेढ दर्जन व्यक्ति घाइते भएका छन् तीमध्ये पाँच जना गम्भीर रहेको र उनीहरुको विराटनगरमा उपचार भइरहेको छ । अन्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताउनुभयो ।
गाईघाटबाट जिल्लाको पश्चिमी पहाडी क्षेत्रको ताप्लीस्थित रुपाटार जाँदै गरेको प्रदेश२–०१–००१–त १०८३ नंको ट्र्याक्टर बिहान ९ः३० बजे उदयपुरगढी गाउँपालिका–६ दनुवारबेँसीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।