नेपाली विद्युतीय मोटरसाइकल चढेर अर्थमन्त्री कुदे सरर…कति पर्छ मूल्य ?

रामेछाप खबर संवाददाता

२ मंसिर, काठमाडौं ।

नेपालमै बनेको विद्युतीय मोटरसाइकलमा अर्थमन्त्री जनार्दन शर्माले कुदाएका छन्। मंगलबार मन्त्रालय परिसरमा अर्थमन्त्री, अर्थसचिवले यात्री मोटरसाइकल टेष्ट डाइभ गरेका हुन्। कालिका कन्स्ट्रक्सनका विक्रम पाण्डेका भतिज अशिम पाण्डेलगायतको टिमले यात्रीका मोटरसाइकल नेपालमै बनाएका हुन्।

यात्रीले हालसम्म २ वटा मोडल बनाइ सकेका छन्। पी जिरो र पि वान मोडलका बाइक नेपालमा सार्वजनिक गरिसकेका छन्। पी जिरो मोडलको मूल्य १९ लाख ४९ हजार रुपैयाँ रहेको छ भने पी वानको मूल्य ४ लाख ९५ हजार सुरुवाती मूल्य रहेको छ।

सरकार उत्पादनमूलक अर्थतन्त्र निर्माणमा लागिपरेको छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले सरकारको लक्ष्य उत्पादनमूलक अर्थतन्त्र निर्माण गर्ने रहेको बताएका छन् । पोखरा उद्योग बाणिज्य संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले उत्पादनमूलक अर्थतन्त्र निर्माण गर्न चाहेकाले त्यसका लागि अग्रसर हुने व्यवसायीलाई आवश्यक सुविधा दिने बताए । ‘उद्योगधन्दा खोल्नका लागि चाहिने सुविद्या दिन सरकार तयार छ’, उनले भने,‘भन्सार, विद्युत र कर लगायतमा सरकारले छुट दिन तयार छ ।’

अर्थमन्त्री शर्माले देशमा उत्पादित ५ सय मेघावाट बिजुली खेर जानु लज्जाको विषय भएको बताउँदै बिजुली स्वदेशमै खपत हुने अवस्था सिर्जना गर्नेतर्फ सरकार लागि रहेको बताए । उनले हालसम्म ४.७ प्रतिशतमात्रै पूँजीगत खर्च हुनु दुःखको कुरा भएको बताउँदै सार्वजनिक खरिद ऐन संशोधन गरेर खर्च बढाउने तयारीमा सरकार लागेको बताए ।

उनले भने, ‘सरकारले अर्थमन्त्रीकै संयोजकत्वमा सार्वजनिक खरिद ऐन संशोधन गर्न समिति गठन भएको छ । बजारमा देखिएको तरलता हटाउन शुक्रबार नै सबै वाणिज्य बैंकका कार्यकारी निर्देशकहरूसँग छलफल गरेका छौं । अब केही दिनमै तरलताको समस्या समाधान हुनेछ ।’

अर्थमन्त्री शर्माले पोखरा–काठमाडौंको सडकलाई थप बिस्तार गरेर लामो पट्यार लाग्दो यात्रालाई २ घण्टामा झार्नको लागि भौतिक पूर्वाधार मन्त्रालयसँग छलफल अघि बढाएको बताए । उनले कोभिडले पीडित व्यवसायीको लागि घोषित पुनः कर्जा र अनुदान वितरणको प्रभावकारिता अनुगमन थालिएको बताउँदै साना व्यवसायीलाई अनुदान दिने प्रक्रिया सुरु भएको बताए ।