विप्लवद्वारा भोलिको बन्दलाई तिब्र तयारी : के चल्ने, के नचल्ने ?

रामेछाप खबर संवाददाता

काठमाडौं, २९ कात्तिक ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आव्हान गरेको मङ्गलबारको नेपाल बन्दको आक्रामक तयारी गरेको छ । उसले बन्द अवज्ञा गर्नेविरुद्ध बल प्रयोग गर्ने रणनीति समेत बनाएको बुझिएको छ ।

पेट्रोलियम पद्धार्थलगायत अत्यावश्यक सामाग्रीको मूल्यवृद्धि गरेको विरोधमा विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्द घोषणा सरकारसँग वार्ता गरी सार्वजनिक भएपछि पहिलोपटक आव्हान गरिएको हो । यसकारण पनि विप्लवले भोलिको बन्दलाई शक्ति प्रदर्शनका रुपमा लिएको बुझिएको छ ।

विप्लवले भोलिको बन्दमा सम्पूर्ण शक्ति लगाउने तयारी गरेका छन् । उनले भोलि शक्ति प्रदर्शन गरेर आफ्नो प्रभाव समेत देखाउने रणनीति बनाएको बुझिएको छ ।

विप्लवले बन्दको पर्चा समेत छर्न लगाएका छन् । विशेषगरी शहरी क्षेत्रमा पर्चा व्यापक गरेर बन्द पूर्ण रुपमा सफल बनाएर आफू मजबुत रहेको देखाउन खोजेका छन् ।

केन्द्रीय प्रचार तथा प्रकाशन विभागका इञ्चार्ज प्रज्वलनले भोलि सम्पूर्ण पेसाकर्मी, उद्योगी, व्यवसायी, शैक्षिक संघसंस्थालाई सहयोग गरिदिन आग्रह गरेका छन् । विभागद्वारा जारी पत्रमा भनिएको छ, ‘सरकारले हालै महिना दिनभित्र ९ पटकसम्म पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ ।डिजेल, पेट्रोल, हवाइ इन्धन, ग्यास तथा दैनिक अत्यावश्यक उपभोग्य वस्तुमा भएको चर्को मूल्यवृद्धिले आमसर्वसाधारण किसान, श्रमिक, मजदुर मात्र नभई विद्यार्थी, शिक्षक–वुद्धिजीवी, कर्मचारीलगायत मध्यम वर्ग र व्यवसायीहरूको समेत ढाड सेक्ने निश्चित छ ।’

सरकारको गैरजिम्मेवार, जनविरोधी र ज्यादतीपूर्ण नीति तथा कार्यविरुद्ध आमजनताको आक्रोश र भावनाको प्रतिनिधित्व गर्दै विभिन्न आन्दोलनसहित भोलि नेपाल बन्दको घोषणा गरिएको विप्लव माओवादीले स्पष्ट पारेको छ ।‘नेपाल बन्द हाम्रो रहर नभई बाध्यता हो,’ उनले भनेका छन् । आन्दोलनका कार्यक्रमहरूमा देशव्यापी ऐक्यबद्धता प्रकट गरी मूल्यवृद्धिको सशक्त प्रतिवाद गर्दै मूल्यवृद्धि खारेज गर्न सरकारमाथि चौतर्फी दबाब सिर्जना गर्नु हरेक क्षेत्रका नागरिकहरूको दायित्व भएको समेत उल्लेख गरिएको छ ।