शिक्षा र स्वास्थ्यमा लगानीका लागि विमान बेच्दै राष्ट्रपति

जागृति खबर संवाददाता

काठमाडौं, २९ कात्तिक ।

हामी नेपालीले बारम्बार गर्ने गुनासो हो नेताले हाम्रा लागि केही गरेनन्। वास्तवमा ठुला ठुला राजनीतिक परिवर्तन देखेको नेपाली समाजमा जनताको जनजीविकामा भने कहिल्यै उल्लेखनीय परिवर्तन आउन सकेन।

प्रत्येक क्रान्ति पछि त्यसको नेतृत्व गर्नेको जीवनमा बाहेक अन्त खास प्रभाव नपरेको दृष्टान्त हाम्रो माझ तितो यथार्थ बनेर रहेको छ। देशमा शिक्षा, स्वास्थ्य, खानेपानी, लगायतका आधारभूत पूर्वाधार समेत अधिकांश भागमा पुगेको छैन। यस्तै समस्या बाट गुज्रिरहेको एउटा विदेशी मुलुकमा भने राष्ट्रपतिले आफ्नो विमान बेचेर शिक्षा र स्वास्थ्यमा लगानी गर्ने घोषणा गरेका छन्।

आफू निर्वाचित भएको एक सय दिन पूरा भएको अवसरमा सम्बोधन गर्दै पेरुका राष्ट्रपति पेड्रो कास्टिलोले शिक्षा र स्वास्थ्यमा आर्थिक सहयोग जुटाउन विमान बिक्रीमा राखेको घोषणा गरेका हुन्। साथै उनले सरकारी अधिकारीहरूलाई प्रथम श्रेणीको उडानमा प्रतिबन्ध लगाउने पनि बताएका छन्।

यस भन्दा अगाडि पूर्वराष्ट्रपति एलन गार्सियाले यो विमान दुई पटक लिलामी गर्ने प्रयास गरे पनि बिक्री भएको भने थिएन । विमान बोइङ पुरानो भएको र बिक्रीका लागि प्रस्ताव गरिएको मूल्य दुई अर्ब २० करोड राखिएका कारण पनि सहजै बिक्री हुन् नसकेको बताइएको छ ।