घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

जागृति खबर संवाददाता

काठमाडौं, २९ कात्तिक ।

नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले ओरालो लागेर रु ९४ हजार ३०० तोकिएकोे छ । पहेँलो धातु आइतबार प्रतितोला रु ९४ हजार ६००मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार ८०० तोकिएको छ जसको मूल्य आइतबार प्रतितोला रु ९४ हजार १०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ले घटेर रु एक हजार २८० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८५७ डलर आसपासमा कारोबार भईरहेको छ ।

यसरी सक्रिय हुँदैछन् उद्योगी कांग्रेसको राजनीतिमा

उद्योग वाणिज्य सङ्घ चितवनको अध्यक्ष पदमा अप्रत्यासित जित हासिल गरेर चर्चामा आउनुभएका युवा उद्यमी राजन गौतम यतिबेला कांग्रेस राजनीतिमा सक्रिय हुनुहुन्छ । सङ्घका पूर्वअध्यक्ष उहाँले सो निर्वाचनमा कल्पना नै नगरिने गरी जित आफ्नो पक्षमा पार्नुभएको थियो । कांग्रेस चितवनको यही मङ्सिर १० गते हुने निर्वाचनमा उहाँ उपसभापति पदको उम्मेदवार हुनुहुन्छ ।

सङ्घ खैरहनीका पूर्वअध्यक्ष गुणराज श्रेष्ठ कांग्रेस खैरहनी नगर सभापतिमा निर्वाचित हुनुभएको छ । सङ्घ रत्ननगरका पूर्वअध्यक्ष केशवनारायण श्रेष्ठ कांग्रेस रत्ननगर वडा नं २ का सभापतिमा निर्वाचित हुनुभएको छ । राजनीति गर्ने यसलाई ‘पेशा’ बनाएको आरोप लागिरहेका बेला उद्योगी व्यवसायी राजनीतिमा आउँदा सकारात्मक हुने दाबी गरिएको छ । जीवनभर राजनीति गरेकालाई पाखा लगाउँदै व्यवसायी राजनीतिमा आउन हुँदैन भन्नेतर्क अघि सार्ने पनि कम छैनन् । यसो त अग्रणी व्यवसायी उमेश श्रेष्ठ पछिल्लो समय राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँको राजनीतिक क्षेत्र चितवन हो ।

क्षेत्रीय होटल सङ्घ सौराहाका तीन पूर्वअध्यक्ष अहिले कांग्रेसको आसन्न महाधिवेशनमा जिल्ला, प्रदेश र संघमा उम्मेदवारी दिँदै हुनुहुन्छ । सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरेका अनुसार हरिभक्त घिमिरे महाधिवेशन प्रतिनिधि, नारायण भट्टराई प्रदेश प्रतिनिधि र ज्ञानेन्द्रकुमार विष्ट जिल्ला सदस्यमा उम्मेदवारी दिँदै हुनुहुन्छ । सङ्घका वरिष्ठ उपाध्यक्ष रामहरि खनाल महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिँदै हुनुहुन्छ ।

होटल व्यवसायी वासुदेव ढुङ्गाना र शेरबहादुर परियार महाधिवेशन प्रतिनिधिमा र रामकुमार अर्याल प्रदेशमा उम्मेदवारी दिँदै हुनुहुन्छ । रेष्टुराँ एण्ड बार एशोसिएशन सौराहाका पूर्वअध्यक्ष राजन भट्ट प्रदेश प्रतिनिधिमा उम्मेदारी दिने तयारीमा हुनुहुन्छ ।

उद्योग परिसङ्घ बागमती प्रदेशका अध्यक्ष एवं उद्योग सङ्घ चितवनका पूर्वअध्यक्ष भेषराज दुवाडी महाधिवेशन प्रतिनिधि निर्वाचन लड्ने तयारीमा हुनुहुन्छ । उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्ष उत्तमलाल चुके प्रदेश प्रतिनिधिमा उम्मेदवारी दिँदै हुनुहुन्छ । कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ जिल्लाका दुई हजार ९०० हाराहारी प्रतिनिधिमा आधा ५० वर्षभन्दामुनिका रहेको बताउनुहुन्छ । प्रतिनिधि युवा, व्यवसायी, बुद्धिजीवी, पेशाकर्मीलगायतका छन् । यो निर्वाचनमा उद्योग व्यवसाय क्षेत्रबाट धेरैको प्रतिनिधित्व हुने देखिएको उहाँको भनाइ छ ।

कांग्रेस चितवनका कोषाध्यक्ष शङ्करप्रसाद कँडेल व्यावसायिक पृष्ठभूमिको हुनुहुन्छ । उहाँ अबका निर्वाचनमा महाधिवेशन प्रतिनिधिको उम्मेदवार मात्रै रहेर स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बन्ने तयारीमा लाग्नुभएको छ । जिल्ला सभापति श्रेष्ठ उद्योगी व्यावसायिक क्षेत्रमा नेतृत्व गरेका दुवाडी, चुके, गौतम, श्रेष्ठ, दीर्घमान लगायतका व्यक्ति कांग्रेसका राजनीतिमा सक्रिय भएको बताउनुहुन्छ ।

चितवन च्याम्बर अफ कमर्सका अध्यक्षसमेत रहनुभएका कांग्रेस केन्द्रको उद्योग व्यापार विभागका सचिव दीर्घमान श्रेष्ठ उद्योग व्यवसायमा राम्रो सफलता हासिल गरेका व्यक्ति सक्रिय राजनीतिमा आउनु सकारात्मक भएको बताउनुहुन्छ । सङ्घका पूर्व जिल्ला अध्यक्ष चुके व्यावसायिक पृष्ठभूमिका व्यक्ति राजनीतिमा आउँदा व्यवसायीका नीतिगत समस्या बुझ्ने र समाधान हुने बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ, “व्यावसायिक व्यक्ति राजनीतिमा आउँदा राजनीतिमा भ्रष्टाचार कम हुन्छ ।

सङ्घका पूर्वअध्यक्ष गौतम व्यावसायिक व्यक्ति राजनीतिमा आउँदा पार्टीका नेता कार्यकर्तालाई राजनीतिसँगै व्यापार व्यवसायमा जोड्ने हुँदा समग्र राष्ट्रका लागि नै हित हुने बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ, “सधैँ चन्दा मागेर पार्टी चल्नुभएन, नेता आउँदा नोट माग्छ कि भोट माग्छ भन्ने हुनु भएन ।” पार्टीलाई आर्थिकरुपमा सवल र दह्रो बनाउँदै पार्टीका लागि जीवन र जोवन खर्चिका योद्धाको सम्मानका लागि आफूले उम्मेदवारी दिन लागेको उहाँ बताउनुहुन्छ ।