काठमाडौं ।
चर्चित हास्यकलाकार जितु नेपालले संचालन गर्दै आएको टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ सधैको लागि बन्द भएको छ । संचालक जीतु नेपालले सोमबार एक पत्रकार भेटघाट गर्दै शो बन्द गर्ने घोषणा गरेका हुन् । मनोरन्जनात्मक कार्यक्रमले १ सय ३२ श्रंखला पुरा गरेर बन्द भएको हो ।
शो बन्द हुनुमा बाहिर आएको जस्तो फुलन्देका आमा मात्र कारण भने नभएको बुझिएको छ । जितु आफैले फुलन्देको आमा (उमेश राई) क्लब छाडेर अन्त्यै काम गर्न लाग्नुलाई मुख्य कारण भएको भन्दै अन्य कारणले पनि थप समस्या आइपरेको पत्रकारहरुसँगको कुराकानीमा बताए ।
सुरुको शो पर्यटन बोर्डमा गरेको बताउदै नेपालले कार्यक्रमको सुटिङ गर्ने सेटको अभाव भएको इशारा गरे । जितुले सुटिङ गर्नलाई स्थायी सेट नहुँदा निकै समस्या परेको सुनाए । पत्रकारसँगको कुराकानीमा उनले मनोरन्जनात्मक कार्यक्रम भएकोले अतिथिको अभाव भएको समेत गुनासो गरे ।
शो लाई निर्माण गरिरहेको कम्पनी ‘कि एडभर्टाइजिङ’ले फूलन्देकी आमा (उमेश राई) लाई प्रस्तोता बनाई अर्को टेलिभिजन शो घोषणा गरेपछि आफूले ‘मुन्द्रेको कमेडी क्लब’लाई बन्द गर्ने निर्णय लिएको नेपाल बताउँछन् ।
उनले स्क्रिप्ट लेखन, अतिथि बोलाउने तथा पैसा जुटाउने सबै काम आफैले गर्दै आएका थिए ।
फुलन्देकी आमाले’ मलाई धोका दिए भन्दै जीतुले चित्त दुखाउँदै….
हास्य कलाकार जीतु नेपालले होस्ट गरिरहेको टेलिभिजन शो ‘मुन्द्रेको कमेडी क्लब’को प्रसारण सोमबारदेखि बन्द भएको छ । सोमबार अन्तिम शो प्रसारण भयो । अन्तिम शो प्रसारण हुनुभन्दा अगाडि मिडियासँग प्रस्तुत भएका जीतु केही भावुक देखिए । उनले यो शोमा सहभागी सम्पूर्ण टिम र अतिथिलाई धन्यवाद दिए ।
उसो त ‘मुन्द्रेको कमेडी क्लब’ बन्द गर्नुपर्छ भन्ने सोचमा जीतु थिए । तर, असारको अन्तिममा भव्य कार्यक्रमको आयोजना गर्दै शो बन्द गर्ने उनको सोच थियो । तर, उनको सोचभन्दा ८ महिना अगाडि नै शो बन्द हुन पुग्यो ।
‘फुलन्देकी आमा’ अर्थात् उमेश राईसँग चित्त दुखाइ
पत्रकारको अगाडि उभिएका जीतुले यो शोका चर्चित कलाकार ‘फुलन्देकी आमा’ अर्थात् उमेश राईसँग चित्त दुखाए । उनले भने, ‘उमेशले अर्को एक रियालिटी शो होस्ट गर्दैछन् भन्ने सुनेपछि म अचम्ममा परें । उमेशलाई फोन गरेर सोध्दा उसले पनि हो भनेपछि म त छाँगाबाट खसेजस्तै भएँ । मलाई एक पटक सोधेको भए हुन्थ्यो भन्ने लाग्यो ।’
जीतुले कुनै पनि कलाकारसँग लिखित सम्झौता गरेका थिएनन् । यसैले पनि उनले उमेशसँग चित्त दुखाउनु बाहेक अरु कुनै उपाय थिएन । जीतुले भने, ‘मैले कोहीसँग पनि लिखित सम्झौता गरेको थिइनँ । कसैलाई पनि धेरै विश्वास गर्न नहुने रहेछ भन्ने पाठ सिकेको छु ।’
एजेन्सीबाट पनि पाएनन् सकारात्मक जवाफ
जीतु उमेशको कुरा गर्नका लागि यो शोको उत्पादन कम्पनी ‘कि एड्भरटाइजिङ’को ढोकासम्म पुगे । उनले त्यहाँबाट पनि सकारात्मक जवाफ पाएनन् । दुवैतिर गर्दा के फरक पर्छ र भन्ने जवाफ पाएपछि उनको चित्त दुख्यो । जीतुले भने, ‘आफ्नो अभिभावक संस्थाबाट नै सकारात्मक जवाफ पाएपछि चित्त नदुख्ने त कुरै भएन । उताबाट हौसला मिलेको भए शायद म असारसम्म शो सञ्चालन गर्ने मुडमा पुग्थें होला । तर, किबाट पनि हौसला दिने काम भएन । यसपछि शो बन्द गर्छु भनेर फर्किएँ ।’
अब के त ?
जीतु नेपाल अब के गर्ने भन्ने सोचमा पुगिसकेका छैनन् । तर, केही टेलिभिजनसँग उनको कुरा भने अगाडि बढेको छ । उनी भन्छन्, ‘हामी चाँडै नै दर्शकमाझ नयाँ शैलीको शो लिएर प्रस्तुत हुनेछौं ।’ जीतु नायिका साम्राज्ञीराज्यलक्ष्मी शाहसँग नयाँ चलचित्रमा पनि काम गर्ने तयारीमा छन् ।
करिश्माको साथ
जीतुलाई नायिका करिश्मा मानन्धरले भने सधैं नै साथ दिने वाचा गरेकी छन् । पत्रकार सम्मेलनमा उपस्थित करिश्माले भनिन्, ‘मैले जितुको आग्रहलाई टार्न नसकेर नै यो शोमा काम गरेकी हुँ । अन्य यस्तै प्रकृतिका शोबाट अफर आएको खण्डमा म काम गर्दिनँ होला ।’
करिश्माले जीतुले आफूसँग सहकार्य गर्नका लागि प्रस्ताव लिएर आएको खण्डमा हुँदैन नभन्ने वाचा गरिन् । करिश्माको कुराले जीतु खुशी देखिएका थिए ।
नकारात्मक प्रतिक्रियाले दुःखी
जीतुले दुई श्रृङ्खला गरेर यो शो १३२ भाग सञ्चालन गरे । यो शोका कारण हरेक साता ६० जना भन्दा बढीले रोजगारी पाएको उनको भनाइ छ । तर, शोको बारेमा नकारात्मक प्रतिक्रिया धेरै आउँदा दर्शकले कुनै विदेशी शोसँग तुलना गरेर गाली गर्दा भने जीतुको चित्त दुखेको छ ।
उनले भने, ‘चामल विदेशबाट आउँछ भनेर के हामीले देशमा धान नै नरोप्ने ? दूध विदेशबाट आउँछ भनेर के हामीले देशमा गाई-भैंसी नै नपाल्ने त ? विदेशीले जे गरेपनि राम्रो तर नेपालका कलाकारले गर्दा नराम्रो भन्ने सोच केही मानिसमा छ । कार्यक्रम प्रसारण भएको दुई दिन त नकारात्मक प्रतिक्रियाले साह्रै नै दुःख लाग्यो । ठूलै गल्ती गरेछु कि जस्तो पनि लाग्यो । तर, विस्तारै बानी पर्दै गयो ।’
जीतुले विभिन्न ठक्कर र दुःख पाएरै भएपनि आफूले नेपाली शैलीको शो तयार पारेको बताए । हरेक साता ४–५ लाख रुपैयाँ खर्च हुँदा पनि शो फाइदामा गएको भन्दै उनले आफूले सक्ने मिहिनेत गरेको प्रतिक्रिया दिए ।