बल्ल खुल्ने भयो नेपाली नर्सलाई कुबेतमा रोजगारीको अवसर।

जागृति खबर संवाददाता

काठमाडौं, २७ कात्तिक ।

कुबेतस्थित एड्भान्स टेक्नोलोजी कम्पनी र त्यहाँको स्वास्थ्य मन्त्रालयको सहकार्यमा एचए तथा पिसिएल गरेका नेपाली कामदार लिने भएको छ । कोरोनाका कारण वैदेशिक रोजगारी ठप्प रहेको अवस्थामा नेपालमै पहिलोपटक कुबेतको एड्भान्स टेक्नोलोजी कम्पनीमार्फत् त्यहाँको सरकारी निकायमा नेपाली पुरुष तथा महिला नर्सको डिमान्ड ल्याएको हो ।

निरन्तरको प्रयासपछि नेपालको इतिहासमै पहिलोपटक सात सय २९ जना महिला तथा पुरुष नर्सका लागि कामदारको डिमान्ड ल्याउन सफल भएको र आवश्यक छनोट प्रक्रियाका लागि तयारी भइरहेको ओमेगा इन्टरनेसनल प्रालिका सञ्चालक राजकुमार राईले बताउनुभयो । २०६७÷२०६८ मा स्थापना भएको कम्पनीले हालसम्म २० हजारभन्दा बढीलाई वैदेशिक रोजगारमा पठाइसकेको जनाएको छ ।

यसअघि खाडी मुलुकमा एचए र पिसिएल नर्सलाई कामदारका रूपमा एक्सेप्ट नगरेको जानकारी गराउँदै ओमेगाका सञ्चालक राईले कुबेतको एड्भान्स टेक्नोलोजी कम्पनी र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबीच निरन्तर बैठक बसी नेपालमा पिसिएल र एचए नेपाली महिला तथा पुरुष कामदारका लागि ठूलो संख्यामा काम गर्ने वातावरण सिर्जना गरेको बताउनुभयो।

स्वास्थ्य क्षेत्रको काममा आकर्षक तलब सुविधा रहेको र लाइसेन्सका लागि नेपालमै परीक्षा हुने भएकाले कुबेत पुगेर कुनै समस्या नआउने पनि उहाँले बताउनुभयो । फ्रि–भिसासमेत रहेकोे उक्त डिमान्डमा योग्य व्यक्तिहरूले आवश्यक कागजातसहित ओमेगामा सम्पर्क गर्न सक्ने बताइएको छ ।