जापान आउनेले तोकिएको भ्याक्सिन नलगाएमा तीन दिन होटल क्वारिन्टिन् बस्नुपर्ने

जागृति खबर संवाददाता

काठमाडौं, २७ कात्तिक ।

नेपालबाट जापान आउनेले तोकिएका खोप नलगाएका व्यक्तिले अब अनिवार्य तीन दिन होटल क्वारिन्टिन बस्नुपर्ने भएको छ । नेपालबाट जापान भित्रने प्रमुख नारिता तथा हानेदा बिमानस्थल अध्यागमनले नोभेम्बर ८ तारिखबाट लागू हुनेगरि तीन दिनको क्वारिन्टिन नियम लागू गराएको हो ।

नियम अनुसार ८ तारिख सोमबार उप्रान्त नेपालबाट जापान आउने व्यक्ति मध्ये जापानले स्विकृत गरेको कोरोना भाइरस बिरुद्धको खोप लगाउने व्यक्तिको लागि होटल क्वारिन्टिन नियम छुट रहेको छ ।

नारिता एयरपोर्टमा कार्यरत नेपाली कर्मचारीले उपलब्ध गराउनुभएको क्वारिन्टिन सम्वन्धित नयाँ नियम अनुसार मोडेर्ना, फाईजर र अष्ट्राजेनेका खोपको दुई मात्रा पूरा लगाएका व्यक्ति बिमानस्थलमा पीसीआर परीक्षण नकारात्मक पाइएमा सिधा आफ्नो बासस्थानमा जान सक्छन् । जहाँ उनिहरु तीन दिन तोकिएको नियम पालना गरेर क्वारिन्टिनमा बस्नुपर्नेछ ।

तीनदिन पछि भाइरस संक्रमणजन्य लक्षण नदेखिएमा उनिहरु सार्वजनिक रुपमा बाहिर यात्रा वा काममा जान र सामान्य जीवनयापन गर्नसक्नेछन् । नयाँ नियमानुसार उल्लेखित तीनवटा प्रकारको भ्याक्सिन बाहेक अन्य जुनसुकै भ्याक्सिन लगाएको भएपनि अनिवार्य तीन दिन होटल क्वारिन्टिन बस्नुपर्नेछ ।

जन्सन एण्ड जोन्सन, कोभिसिल्ड, भेरोसेल वा अष्ट्राजनेका, फाईजर र मोडेर्नाको एक मात्रा र अन्य खोप एक मात्रा लगाएको भएपनि अनिवार्य एयरपोर्ट प्रशासनले तोकेको होटल क्वारिन्टिनमा तीन दिन बस्नुपर्नेछ । त्यस पश्चात गरिने पीसीआर परीक्षण नकारात्मक पाईएमा आफ्नो बासस्थानमा जान पाउनेछन् । जहाँ उनिहरु पुन ११ दिन क्वारिन्टिन बस्नुपर्नेछ ।

एयरपोर्ट वा एयरपोर्ट क्वारिन्टिन देखि बासस्थानसम्म जाने व्यक्तिले अनिवार्य निजि सवारीको साधन प्रयोग गर्नुपर्नेछ । अर्थात् ट्याक्सि, रेल वा बस जस्ता सार्वजनिक सवारिको साधन प्रयोग गर्न पाउँदैनन् ।

नेपाल एयरलाईन्सले सिधा हवाई उडान भर्दै आएको नारिता बिमानस्थल जहाँबाट कतार, ईमिरेटस्, सिंगापुर, मलेसियन एयर लगायत करिव आधा दर्जन बैकल्पिक उडान उपलब्ध छ । नेपालबाट आउने अधिकाशं यात्रु नारिता बिमानस्थलहुँदै जापान आउने गर्दछन् ।