चर्चित मेयर द्धारीकालाल चौधरीले छोडे एमाले, माधव नेपाललाइ घरमै मासु भात खुवाएर भब्य स्वागत

जागृति खबर संवाददाता

काठमाडौं, २६ कात्तिक ।

नेकपा एमालेका तर्फवाट मेयर बनेका द्धारीकालाल चौधरी अब माधव नेपालको पार्टी प्रवेश गर्ने भएका छन् । उनी एमालेमा असन्तुष्ट हुँदै गएका छन् । दुई समूहमा विभाजित नेकपा एमाले सुनसरीको नेतृत्वमा हेरफेरलाई लिएर उनले असन्तुष्टि जनाएका हुन् । इटहरी उपमहानगरपालिकाका मेयर रहेका द्वारिकलाल चौधरीले शुक्रवार माधव नेपाललाई आफ्नै घरमा भब्य स्वागत गरेका छन् ।

नेकपा एकीकृत समाजवादीको कार्यक्रममा भाग लिन इटहरी पुगेका अध्यक्ष नेपाल र प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई चौधरीले शुक्रबार घरमै भब्य स्वागत गरेका छन्। आफ्नो इटहरीस्थित घरमा चौधरीले खसीको मासु, लोकल कुखुराको मासु र माछाका विभिन्न परिकारले सत्कार गरेका हुन्।

दुई दिनअघि मात्रै उनले एमाले जिल्ला कमिटी सुनसरीको बैठकमा बबाल गरेका थिए । चौधरीले एमालेमा ठाउँ नपाएको भन्दै माधव नेपालसंग गुनासो पनि गरेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट विजयी चौधरी केही दिनअघि इनरुवामा भएको एमालेको बैठकमा माइक खोस्नै पुगेका थिए।

एमालेमा आफू असन्तुष्ट रहेको सन्देश दिने गरी चौधरीले बिहीबार मात्रै समाजवादीका प्रदेश १ अध्यक्ष एवम् उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीसँग खाना खाएको फोटो भिडियो फेसबुकमा हालेका थिए। त्यसपछि चौधरीले शुक्रबार माधव नेपाल र प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई घरमै बोलाएर मेजमानी गरेका हुन्। चौधरी समाजवादीतिर जाने विवरणसहितका सन्देश अहिले सामाजिक सञ्जालमा लेखिएको छ।

समाजवादीको इटहरी नगर कमिटीको फेसबुक वालमा चौधरी र इटहरी उपमहानगरपालिका(४ का अध्यक्ष चन्द्र भट्टराईले एमाले छाड्ने उल्लेख गरिएको छ। माधव नेपाललाई घर बोलाएको अघिल्लो दिन अर्थात हिजो नेकपा एसका प्रदेश १ अध्यक्ष तथा उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीसँग खानपान र भेटघाट गरेका थिए। ​