ओलीकाे पार्टीकाे भविष्य समाप्त पारिदिन्छाैँ : नेता नेपाल

रामेछाप खबर संवाददाता

काठमाडौं, २४ कात्तिक ।

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन चुनावसम्मै लैजाने बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) दार्चुलाको जिल्ला कमिटी घोषणा तथा आमसभालाई सम्बोधन गर्न गोकुलेश्वर पुग्नुभएका अध्यक्ष नेपालले अहिले बनेको गठबन्धन पालिका, प्रदेश, सङ्घ र अब छिट्टै हुने राष्ट्रिय सभा चुनावमा यथावत् रहने बताउनुभयो ।

उहाँले केपी अ‍ोलीको पार्टीको भविष्य पाँच दलीय गठबन्धमार्फत समाप्त पारिदिने चेतावनी पनि दिनुभयो । अध्यक्ष नेपालले केपी ओलीको कब्जामा रहेको पार्टीको भविष्य नभएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, आउने चुनावमा पाँचै पार्टी मिलेर जानेछौँ, केपी कब्जामा रहेको पार्टीको पत्तासाफ हुनेछ । उहाँले अहिले घोषणा गरिएको कमिटीलाई सबै पालिका र वडा तहसम्म कमिटी गठन गर्दै चुनावको तयारीमा जुट्न आग्रह गर्नुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले दार्चुलाको निर्माणाधीन गोकुलेश्वर विमानस्थल र मालिकार्जुन धामका लागि बजेटको कमी हुन नदिने बताउनुभयो । नेकपा (एकीकृत समाजवादी) को जिल्ला कमिटी घोषणा कार्यक्रममा उहाँले अहिले विमानस्थलका लागि बजेट थोरै भएको भन्दै आफ्नो मन्त्रालयबाट बजेटको कमी हुन नदिने उद्घोष गर्नुभयो ।

उहाँले देशकै सातौँ धाम मालिकार्जुनमा विगतको सरकारबाट बजेटमा कटौती हुँदै गएको भन्दै अब मालिकार्जुन धाममा क्रमागत रूपमा चाहिने जति बजेट राखिने बताउनुभयो ।