फेरि बढ्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य

जागृति खबर संवाददाता

काठमाडौं, २४ कात्तिक ।

नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य बढाएको छ । केही दिन अगाडि मात्रै पेट्रोलियम पदार्थमा मूल्य बढाएको निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पुनः पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बढाएको हो ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँका दरले बढाएको छ। निगमले मूल्य बढाएपछि पेट्रोल प्रतिलिटरको मूल्य १३६ रुपैयाँ पुगेको छ । यस्तै, डिजेल तथा मट्टितेलको मूल्य ११९ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर ७५ रुपैयाँ बढाएको छ । निगमले मूल्य बढाएपछि खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ५७५ रुपैयाँ पुगेको छ ।

गाई काटेको आरोपमा पाँच पक्राउ

राष्ट्रिय जनावर गाई काटेको आरोपमा सिन्धुपाल्चोकको बाह्रबिसेबाट पाँच जना पक्राउ परेका छन् । गत कात्तिक २२ गते राति करिब ११ बजे बाह्रबिसे–९, राम्चेको पोष्टपखेरामा गाई काटेर मासु भाग लगाइरहेका अवस्थामा उनीहरू पक्राउ परेका हुन् । पक्राउपर्नेमा बाह्रबिसे– ९ का ३२ वर्षीय अर्जुनबहादुर थामी, ३० वर्षीय राजकुमार थामी, त्रिपुरासुन्दरी–२ का ३० वर्षीय भीमबहादुर थामी, ३४ वर्षीय दिलबहादुर थामी र १९ वर्षीय विजय थामी रहेका छन् ।

स्थानीय मानबहादुर थामीको बारीमा गाउँकै अर्जुनबहादुरको गाई निजले मानिस मिली काटी मासु भाग लगाइरहेको छ भन्ने विशेष सूचनाका आधारमा तत्काल प्रहरी टोली खटी गई उल्लेखित मानिसलाई मासु भाग लगाइरहेकै स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो । उनीहरूलाई सिन्धुपाल्चोक जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिई पशुपक्षीसम्बन्धी कसूरमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।