बाबुरामले ओलीलाई भने :- उडन्ते कुरा गर्दै नहिँड्नुस्, प्रमाणित गरेर देखाउनुस्

जागृति खबर संवाददाता

काठमाडौं, २४ कात्तिक ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तथ्यहीन कुरा नगर्न सुझाव दिँदै आफूमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले जनयुद्धको बेला भट्टराईकी छोरी कसरी बेलायत पढ्न गइन् भनेर प्रश्न उठाएपछि बाबुरामले पूर्व प्रधानमन्त्री जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्न अशोभनीय भएको बताएका हुन् ।

भट्टराईले ओलीलाई चुनौती दिँदै लेखेका छन्, ‘ मित्र खड्गप्रसादजी, पूर्व प्रम जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्नु शोभनीय भएन। हाम्री छोरी मानुषी ७ वर्षको उमेरमा जनयुद्ध पूर्व २०४९–५१ मा आमा हिसिला छात्रवृत्तिमा बेलायत पढ्न गएको बेला सँगै गएर सँगै फर्केकी हुन् । त्यस यता उनी बेलायत गएको प्रमाणित गर्नोस् न !’

यसअघि आइतबार काठमाडौँमा कर्णाली प्रदेश कमिटीले आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बाबुरामका छाेराछाेरी जनयुद्धताका बेलायत पढ्थे। बेलायत पढाउने आम्दानीकाे स्राेत के हाे भनेर प्रश्न उठाएका थिए।

उनले भनेका थिए, ‘बाबुरामका छोराछोरी त बेलायत पढ्थे । हामी बेलायत जाने भिसा पाउँदैन थियौँ । बाबुरामका छोराछोरीले भिसा पाउँथे । कसरी होला, के जादु थियाे होला त्यसमा ? एक जना भूमिगत क्रान्तिकारी नेताका छोराछोरी…. बाबुको नाम त चाहिन्छ, बाबुको नागरिकता चाहिन्छ, पासपोर्ट बनाउन अनेक चिज चाहिन्छ । कुन पासपोर्टबाट जानु भएको थियो ? कहाँ भिसा लागेको थियो ? बाबुरामजी बताउनुहोस् त ! तपाईंको छोराछोरीले बेलायतको शिक्षा, जहाँ कमसेकम २–४ लाखदेखि ५ लाख महिनाको खर्च हुन्छ, छोरा छोरी कसरी पढाउनुभएको थियो ? कहाँको आम्दानीले भूमिगत हिँड्दा खेरी ? खैर त्याे प्रसंगमा नजाउँ अहिले, मैले यसो सम्झाइदिएको मात्र !

केपी ओलीकाे सार्वजनिक रुपमा यस्ताे बाेली सुनेपछि भट्टराइले प्रमाणित गर्न चुनाैति दिँदै हावादारी र उडन्ते तथ्यहीन कुरा गर्दै नहिँड्न सुझाव दिएका हुन्।