विघटन तिर पुग्यो एमालेको तेस्रो धार, रावलसहितका केही नेता एमाले छाड्ने तयारीमा

जागृति खबर संवाददाता

काठमाडौं, २३ कात्तिक ।

विभाजनको अन्तिम समय पार्टी एकताको नारा दिँदै फर्किएको एमालेको तेस्रो धार अन्ततः विघटनको संघारमा पुगेको छ । १० बुँदे सहमति कार्यान्वयनका मुद्दामा मतान्तर भएसँगै तेस्रो धार विघटन तिर पुगेको हो ।

तेस्रो धारका ११ नेतामध्ये अधिकांश १० बुँदे सहमति कार्यान्वयन भए पनि नभएपनि पार्टीमै रहने निर्णयमा पुगेका छन् भने निश्चित नेता कार्यान्वयन भए मात्रै पार्टीमा रहने अडानमा देखिएका छन् । भीम रावल, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्यलगायतका केही नेता १० बुँदे कार्यान्वयन निर्विकल्प हुनुपर्ने अडानमा देखिएका छन् । तर, ११ जनामध्ये बहुमत सदस्यले भने १० बुँदेलाई विवादको विषय बनाउन नहुने अडान लिन थालेका छन् ।

नेताहरु सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्यलगायत १० बुँदे सहमति करिब कार्यान्वयन भईसकेको भन्दै अन्यमा विवाद गर्न नहुने लाईनमा देखिएका छन् । उनीहरु बाँकी विवादका विषय महाधिवेशनबाट हल हुने बुझाईमा पुगेका छन् । अहिले सुरेन्द्र पाण्डेसहित केही नेताहरुले महाधिवेशनसँग सम्बन्धी विभिन्न जिम्मेवारी पाएको कारण पनि १० बुँदेको विषयमा बोल्न छाडेका छन् ।

केही दिनमै निर्णय लिन्छौं – भीम रावल

१० बुँदे सहमति निशर्तः कार्यान्वयनको विषयमा नेता भीम रावलले सुरुदेखि नै अडान राख्दै आएका छन् । उनले सहमति कार्यान्वयन नभए पार्टी एक नहुने पनि बताउँदै आएका छन् । पछिल्ला पार्टीका बैठकमा आफ्ना अडानलाई स्पष्ट रुपमा राख्दै आएका रावलले सहमति कार्यान्वनय नभए पार्टीबाट अलग हुने समेत बताउन थालेका छन् ।

महाधिवेशन प्रतिनिधि छनौटमा मनपरि गरिएको र १० बुँदे सहमतिलाई वेवास्ता गरिएको भन्दै ठोस निर्णय लिने अवस्थामा पुगेको भनाई सार्वजनिक रुपमै रावलले दिएका छन् ।

एक सञ्चारमाध्यमसँगको कुराकानीमा उनले भनेका छन्, ‘२७ गते प्रतिनिधि छनोट हुँदैछ, त्यसबेलासम्म स्थिति कसरी जान्छ र त्यसभन्दा पछि पनि पार्टीलाई कसरी एकताबद्ध बनाएर लैजाने भन्ने छलफल हुन्छ कि, त्यसपछि अर्कै ढंगले सोच्नुपर्ने हुन सक्छ ।