प्रचण्डसँग भिड्ने नेताको नाम सार्वजनिक, प्रचण्डले जित्लान् त ?

जागृति खबर संवाददाता

काठमाडौं, २३ कात्तिक ।

आउने चुनावमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई हराउन एमालेले हरसम्भव प्रयास गरिरहेका छ । यसैको निरन्तरता स्वरुप राप्रपाका नेता विक्रम पाण्डेलाई नेकपा (एमाले)मा प्रवेश गर्ने तयारी भएको हो ।यसअघि चितवनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पराजित भएका पाण्डे आगामी निर्वाचनलाई लक्षित गरे एमाले प्रवेश गर्न लागेका हुन् ।

एमालेका प्रभावशाली नेता महेश बस्नेतले पाण्डे आफ्नो पार्टीमा प्रवेश गर्ने अन्तिम तयारी भैरहेको खुलासा गरेका छन् । प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै बस्नेतले यस्तो बताएका हुन् ।उनले पाण्डे एमाले प्रवेश गरे चितवनमा प्रचण्डविरुद्ध चुनाव लड्ने र जित्नेसमेत दाबी गरे । बस्नेतले पाण्डे कहिले एमालेमा प्रवेश गर्दैछन् ? भनेर मिति भने खुलाएनन् । पाण्डे नेपालको निर्माणसम्बन्धी अग्रणी कम्पनी कालिका कन्स्ट्रक्सनका मालिक हुन् ।

उनको व्यवसाय नेपालमा मात्रै नभएर अमेरिकासम्म फैलिएको छ । उनी विकासप्रेमी नेताको रुपमा परिचित छन् । उनले चितवनमा धेरै विकास गरेको त्यहाँका जनताले बताउने गरेका छन् ।यद्धपी पाण्डे स्वयमले भने एमालेमा प्रवेश गर्ने वा नगर्ने भन्नेबारे अहिलेसम्म सार्वजनिक रुपमा कतै केही बोलेका छैनन् ।ओलीले महत्वपूर्ण शक्ति आफूविरुद्ध लगाउने देखेर प्रचण्डले चितवनमा महाभारतको जस्तो लडाईं हुनलागेको टिप्पणी गरेका छन् । उनले चितवन कुरुक्षेत्रमा परिणत हुन लागेको बताएर तरंग ल्याइदिएका छन् । यसकारण पनि प्रचण्डलाई चितवनबाट चुनाव जित्न सजिलो छैन ।

गत निर्वाचनको मत परिणामलाई दृष्टिगत गर्दा माओवादीको मात्र मतले प्रचण्ड चुनाव जित्ने सम्भावना कमजोर छ । उनले अर्को शक्तिशाली दलसँग कुनैपनि किसिमको गठबन्धन गर्नुपर्ने हुन्छ ।नेपाली काँग्रेस या राप्रपाको साथ पाएमात्र प्रचण्डलाई सजिलो हुन्छ । तर, त्यो सम्भावना लगभग छैन । चितवन काँग्रेसको बलियो गढ हो ।एमालेबाट विभाजित नेकपा एसको चितवनमा पकड कमजोर छ । चितवनबाट निर्वाचित एमाले सांसदहरु सुरेन्द्र पाण्डे र कृष्णभक्त पोखरेल दुवै ओलीको साथमा लागेका छन् ।प्रचण्डले चितवनलाई निर्वाचन क्षेत्र बनाएपनि त्यहाँ माओवादीको पकड खासै बलियो भने छैन । उनले रणनीतिक चातुर्यताले चुनाव जितेका हुन् ।