क्वालालम्पुर —
मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारको न्युनतम मासिक पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ ।
मलेसिया सरकारले अघिल्लो बर्ष अक्टोबरमा घोषणा गरिएअनुसार एक सय रिंगिटले वृद्धि भएको न्युनतम मासिक पारिश्रमिक पुनः वृद्धि हुने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ । तर त्यबारेमा मलेसिया सरकारले कुनै आधिकारिक रुपमा बोलेको भने छैन ।
स्थानीय सञ्चारमाध्यमका अनुसार घरेलु क्षेत्रमा कार्यरत कामदार सहित सबै कामदारका हकमा उक्त नयाँ पारिश्रमिक लागू हुनेछ । मलेसियामा कामदारको तलब मासिक कतिले वृद्धि हुनेछ भन्ने कुराहरु समाचार एजेन्सिले खोलुलाएको भने छैन ।
समाचार एजेन्सीहरुले बताए अनुसार मलेसियामा लागू भएमा अब मलेसियामा निजी क्षेत्रमा कार्यरत सबै स्थानीय र विदेशी दुबैखाले कामदारले बढेको पारिश्रमिक पाउनेछन् ।
यो नीति पूर्ण रुपमा लागू भएमा यहांका विभिन्न क्षेत्रमा कार्यरत ५ लाखभन्दा बढी नेपाली यसबाट लाभान्वित हुनेछन् । मलेसियाले गत सन् २०१२ मे दिवसको अवसर पारेर पहिलोपटक न्युनतम पारिश्रीमक लागूसम्बन्धी नीति घोषणा गरेको थियो ।
यहां बहुसंख्यक नेपाली पश्चिमी मलेसियामा कार्यरत रहेका छन् भने पूर्वी मलेसियामा काम गर्ने नेपालीको संख्या निकै कम छ ।