आखिर किन बाबुरामले आजै काठमाडौं छाड्दै छन ?

जागृति खबर संवाददाता

काठमाडौं, २२ कात्तिक ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई आज राजधानी छाड्न लागेका छन् । उनले पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन (सुज) अभियानका लागि सोमबारदेखि गृहजिल्ला गोरखामा खटिने भएका छन् ि

अध्यक्ष भट्टराई कात्तिक २२ देखि मंसिर ३ सम्म सुज अभियान कार्यक्रममा सहभागी हुने जसपा जिल्ला कार्यसमिति, गोरखाले जानकारी दिएको छ । सुज अभियान कार्यक्रम गोरखाको सबै गाउँपालिका र नगरपालिकामा सञ्चालन हुनेछ ।

पूर्वप्रधानमन्त्री डा. भट्टराईले गोरखामा रहँदा जसपाका कार्यकर्ताका साथै फरक पार्टीका नेता तथा कार्यकर्ता, बौद्धिक व्यक्तित्वहरू, विकास योजनासम्बद्ध व्यक्तिसँग भेटघाट गर्ने र गोरखाका विभिन्न समस्या पहिचान र समाधानबारे पनि अन्तरसंवाद गरी सल्लाह सुझाव लिने बताइएको छ ।

सोमबार २२ कात्तिकमा घ्यालचोक, दर्बुङफाँट, ढाबे र फुजेलमा कार्यक्रम रहनेछ । २३ गते घैरुङ, नामजुङ र बोर्लाङमा कार्यक्रम हुनेछ । २४ कात्तिकमा बालुवा, थुमी र मान्बुमा कार्यक्रम हुनेछ । त्यस्तै २५ गते लिदिङ, लापुबेंसी, खानिबेसी र माछिखोलामा कार्यक्रम रहेको छ । २६ गते लप्सिबोट, यामागाउँ, गुम्दा र लाप्राक कार्यक्रम हुनेछ ।

२७ गते लाप्राकबाट वारपाक जाने र त्यहिँ कार्यक्रम हुने कार्यसमिति गोरखाको भनाइ छ । २८ गते वारपाक, सौरपानी, स्वाँरा र देउरालीमा कार्यक्रम आयोजना हुनेछ भने २९ गते सातदोबाटो, बगुवा, ताप्ले र नारेश्वरमा कार्यक्रम हुनेछ ।

त्यसैगरी कात्तिक ३० गते सिरान्चोक, छेपेटार र पालुङटारमा कार्यक्रम हुने तालिका रहेको छ । मंसीर १ गते दुधपोखरी, मुर्गे, पाडेबारी, ओख्रेनी, सिचौर, केराबारीमा पनि सुज अभियान कार्यक्रम सञ्चालन हुनेछ ।

मंसिर २ गते भिरसिङ, धारापानी, भच्चेक, सिरानडाँडा र मुच्चोकमा कार्यक्रम हुनेछ । मंसिर ३ गते झ्याल्लाको कार्यक्रमपछि बालुवामा स्वास्थ्य शिविर कार्यक्रम गरेर गोरखाको अभियान सम्पन्न गरी अध्यक्ष भट्टराई काठमाडौ फर्कने बताइएको छ ।