यस कारण सत्ता गठबन्धन धरापमा – प्रचण्ड भए नांगेझार, माधव चिन्तित

जागृति खबर संवाददाता

काठमाडौं, २१ कात्तिक ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे पोल खोलेपछि सत्ता गठबन्धनमा खैलाबैला भएको छ।

कोप–२६ सम्मेलनमा भाग लिएर नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवाले एमसीसी पारित गराउने भनेर न्युयोर्कस्थित एमसीसी हेडक्वार्टरमा आफू र माओवादी अध्यक्ष प्रचण्डले पत्र लेखेर पठाएको बताएका थिए।

यो तथ्य सार्वजनिक भएसँगै एमसीसीको विरोधको नाटक गरेका प्रचण्ड र माओवादी नांगेझार भएको छ। प्रचण्डको दोहोरो भूमिकाप्रति सत्ता गठबन्धनको साझेदार नेकपा (एकीकृत समाजवादी)का आदर्शवादी कुरा गर्ने अध्यक्ष माधव नेपाल चिन्तित बनेका छन्।

माधवको चिन्ता, गठबन्धनभित्र असन्तुष्टि र स्वयं आफ्नै पार्टीभित्र असन्तुष्टिका बीच प्रचण्डले प्रधानमन्त्री देउवाले गरेको खुलासालाई खण्डन गर्न बाध्य भएका छन्। उनले प्रधानमन्त्री देउवाले सिधा सिधा भनेको कुरालाई बंग्याउँदै सम्झौतामा सर्वसम्मति जुटाउने भनेको दाबी गरेका छन्।

कति सम्म भने प्रचण्डले सुरुमा त एमसीसी पास गर्नुपर्छ भनेर अमेरिकालाई पत्र नलेखेको दाबी गरे। तर पछि राष्ट्रिय सहमति जुटाएर सम्झौता अनुमोदनमा प्रयत्न गर्ने भनेको भनेर कुरा मिलाए।

यद्यपि देउवाले भने सहमति जुटाउनेबारे अमेरिकालाई पत्र लेखेको स्पष्ट जानकारी दिएका थिए। कुरा मिलाउने क्रममा प्रचण्डले अमेरिका, बेलायत वा विश्वका जुनसुकै देशको सहयोग लिनु सामान्य विषय पनि बताए। एमसीसीको ओरिजिनल सहमतिसँग डराउनुपर्ने कुरा नभएको उनको भनाइ थियो। प्रचण्डले आफ्नो कुरा खण्डन गरेर द्वैध चरित्र देखाएपछि प्रधानमन्त्री देउवा असन्तुष्ट बनेका छन् ।

सुरुमा एमसीसी पारित गरेर देश विकास गर्ने शर्त मानेका प्रचण्डले अहिले बोली फेरिपछि देउवा र कांग्रेस रुष्ट बनेको छ।