प्रहरीको ‘बेस्ट डग अफ द इयर’ जम्बोले पत्ता लगाएको यस्तो थियो घटना

रामेछाप खबर संवाददाता

काठमाडौं, २१ कात्तिक ।

तिहारमा विभिन्न जीवजनावरको पूजाआजा गर्ने चलनअनुसार आज पहिलो दिन काग र कुकुर तिहार मनाइँदै छ । कुकुरलाई मानिसको नजिकको साथी मानिन्छ । यही कुकुरले नेपालको सुरक्षा निकायलाई पनि सहयोग पुर्याउँदै आएको छ ।

नेपाली सेना र नेपाल प्रहरीले अनुसन्धान तथा सुरक्षा लगायत प्रयोजनका लागि तालिमप्राप्त कुकुरको प्रयोग गर्दै आएको छ । प्रहरीले यस वर्ष कर्णाली प्रदेश प्रहरी कार्यालयको ‘जम्बो’ नामको कुकुरलाई ‘बेस्ट डग अफ द इयर’ घोषणा गरेको छ ।

जम्बो त्यही कुकुर हो, जसको मद्दतमा कपिलवस्तु प्रहरीले गत वर्ष घटना भएको ९ घन्टामै अभियुक्तलाई समात्न सफल भएको थियो ।

घटना २७ मंसिर २०७७ को हो । कपिलवस्तुको वडा प्रहरी कार्यालय चन्द्रौटामा राती नौ बजे शिवराज नगरपालिका–५ स्थित स्थानिय मकबुल मियाँको घर पछाडि एक महिलाको शव रक्ताम्य अवस्थामा भेटिएको सूचना आउँछ । वप्रका चन्द्रौटाले तत्काल घटनाको जानकारी जिल्ला प्रहरीलाई दिन्छ ।

त्यतिबेला जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका तत्कालीन प्रमुख एसपी नवराज अधिकारी, अनुसन्धान शाखाका प्रमुख प्रहरी निरीक्षक प्रेम रेग्मी र वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेल अनुसन्धानमा संलग्न थिए ।

यस क्षेत्रको अति संवेदनशील मानिने शिवराज नगरपालिकाको घटनाका विषयमा सचेत रहेका एसपी अधिकारी प्रनि रेग्मीसँग आवश्यक उपकरण लिएर तत्काल घटनास्थल पुग्छन् ।

घटनास्थल मियाँको घर पछाडिको आगँन थियो । त्यहाँ उनकै घरमा भाडामा बस्ने ५९ वर्षीय सुशीला खड्का मृत अवस्थामा थिइन् । उनको टाउकोमा चोट थियो ।

घटनास्थलमा रहेको प्रहरी टोलीले घटना हत्या भएको ठहर गर्छ । तर रातीमा मुचुल्का उठाउन हतार गर्दैन । रातभरि घटनास्थललाई सुरक्षा घेरामा राखिन्छ ।

प्रहरी टोली घटनाका विभिन्न कोण केलाउन थाल्छ । मृतकका आफन्त र छरछिमेकीसँग सोधपुछ थालिन्छ । साथै जिल्लासँग जोडिएका अन्य जिल्ला र नेपाल–भारत सीमामा चेकजाँच तीव पारिन्छ ।

घटनास्थल अनुसन्धानमा प्रहरी अधिकारी सघाउँदै तालिमप्राप्त कुकुर जम्बाे ।

‘घटनास्थल मुचुल्का अघि तालिमप्राप्त कुकुरको प्रयोग गर्ने निर्णय भयो,’ एसपी अधिकारीले पर्दाफाससँग भने, ‘तर हत्यामा संलग्नले सीमा काटने आशंका पनि थियो, नाकामा कडिकडाउ पनि सँगसँगै भयो ।’

एसपी अधिकारीको मागअनुसार कर्णाली प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर बिहान ६ बजे घटनास्थल ल्याइन्छ । कर्णाली प्रदेश प्रहरीबाट आएको तालिमप्राप्त कुकुर जम्बोले घटनास्थल सुघ्छ । त्यसपछि एकफन्का खेतमा लगाएर शुशिलाकै डेरा तर्फ अगाडि बढछ् ।

डेरामा निरास भएर रुदै बसेका शुशिलासँगै बस्ने भतिजा तोरणबहादुर खड्कालाई देखेपछि जम्बो उनलाई झम्टिन थाल्छ । जम्बोको यो संकेत अनुसन्धान अधिकारीहरुका लागि काफी थियो ।

प्रहरी टोलीले तोरणबहादुरलाई एकान्तमा लगेर सोधपुछ थाल्छन् । सुरुमा त उनी नाइनास्ती गर्छन् । जव प्रहरीले कडाईका साथ सोध्न थाल्छ । उनले सत्य बक्न थाल्छन् ।

अनुसन्धान शाखाका प्रहरी निरीक्षक रेग्मीमा अनुसार घटनाको रात तोरणबहादुर र शुशिलालेसँगै मदिरा सेवन गरेका थिए । रक्सीको मात चढ्दै थियो । तर रक्सी सक्कियो ।

‘आरोपीले मृतकसँग थप मादक पदार्थ ल्याउन ५० रुपैयाँ मागे,’ प्रनि रेग्मीले भने, ‘उहाँले पैसा दिन आनकाकानी गरेपछि बादविवाद भएको देखिन्छ ।’ प्रहरीसँगको प्रारम्भीक बयानमा आरोपी २३ वर्षीय तोरणबहादुरले सुरुमा इट्टाले प्रहार गरेको बताए । त्यसपछि घाइते भएकी फूपूलाई मसला पिध्ने सिलौटोको लोहोरेले हानेर हत्या गरेको स्वीकारे ।

प्रहरीले प्रधानमन्त्री निवासदेखि भीभीआईपीको सुरक्षामा पनि कुकुरको प्रयोग गर्दै आएको छ । प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले प्रधानमन्त्री निवासमा भीभीआईपीको आगमन हुँदा सुरक्षाका लागि कुकुरको प्रयोग गर्ने गरिएको बताए ।

‘प्रहरीले सातै प्रदेशमा ट्रयाकर कुुकुर राखेको छ, जसको मद्दतमा धेरै घटनामा अनुसन्धानमा सहज भएको छ,’ उनले भने । प्रहरीमा विशेषगरी हत्या, लागूऔषध, बम विस्फोटक पदार्थ पहिचानलगायत घटनका लागि छुट्टाछुट्टै रुपमा तालिम दिई कुकुरहरु तैनाथ गरिएको छ । जसले घटनाविशेषमा प्रहरीलाई अनुसन्धानमा सहज भएको छ ।

प्रहरीको केनाइन महाशाखाका अनुसार प्रहरीसँग ७ प्रजातिका ८७ कुुकुर छन् । जर्मन सेफर्ड जातको ३६, ल्याब्राडेर २१, बेल्जियन सेफर्ड १०, गोल्डेन रिट्रिभर १३, बिगल ५, क्रोकर स्पाइयिल १, डच सेफर्ड १ छन् । जम्बो भने नेपालमै जन्मिएको कुकुर हो ।

प्रहरीका १४ वटा कुुकुर अपराध अनुसन्धानमा प्रयोग भइरहेको छ । ३६ वटा हातहतियार तथा विस्फोटक पदार्थको खोजी २६ वटा लागूऔषध खोजी र ८ वटा खोजी तथा उद्धारमा प्रयोग गरिएको छ । ३ वटा कुकुर तालिमरत छन् ।