गुल्मीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ६ जना घाइते

जागृति खबर संवाददाता

काठमाडौं, २९ असोज ।

गुल्मीको रेसुंगा नगरपालिकामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

बुटवलबाट सदरमुकाम तम्घासतर्फ जाँदै गरेको लु१ज ४४९० नम्बरको जीप गएराति ११ बजेतिर रेसुंगा नगरपालिका– १० छहरा भन्ने स्थानमा सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परि मृत्यु हुनेमा गुल्मीको मुसिकोट नगरपालिका २ जलजला बस्ने ७० वर्षीय क्षेत्र बहादुर थापा, सोही ठाउँकी ४० वर्षीया राधिका थापा र मुसिकोट नगरपालिका ३ नेटाकी १९ वर्षीया संगीता सुनार रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उनीहरु तीनै जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते हुनेहरुमा जीप चालक मुसिकोट नगरपालिका–२ जलजलाका २६ वर्षीय कमल थापा, सोही ठाउँका ४३ वर्षीया खिमा थापा, ३८ वर्षीया जुना थापा र ३६ वर्षीय राजु थापा छन् ।

यसैगरी मुसिकोट नगरपालिका–३ नेटा बस्ने ४७ वर्षीया सुमित्रा सुनार र चितवनको भरतपुर नगरपालिकाकी ५० वर्षीया राधा केसी पनि दुर्घटनामा घाइते भएका छन् ।

घाइतेहरुमध्ये खु्ट्टामा चोट लागेका राजु थापा डिस्चार्ज भएका छन् भने अन्यलाई पाल्पाको प्रभासमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उनीहरु सबै मान्नको लागि हिँडेको बताइएको छ ।