आज राति मान्छेको मासु काटेर चढाइन्छ पाटनको यो मन्दिरमा ?

जागृति खबर संवाददाता

काठमाडौं ।

कोरोनाको पिसिआर टेस्ट गर्न नाकमा सुइरो घुसाउँदा मेरो सातोपुत्लो उडेको थियो। कहिलेकाहीँ इन्जेक्सन लगाउनुपर्‍यो भने सुई देखेरै सिरिंग भएर आउँछ।

यस्तो पितुर्के मान्छेलाई जीउको मासु काट्ने वा छाला ताछ्ने कुरा सुन्दा के भयो होला!

मेरो त डरले जीउभरि काँडा उम्रेका थिए, जब मैले पाटन, सुबहाल (सौबहाल) को एउटा मन्दिरमा मान्छेको मासु चढाएर पूजा गरिन्छ भन्ने थाहा पाएँ।

धेरैलाई यस्तो परम्पराबारे सुनेरै अचम्म लाग्यो होला! यस्तो पनि पूजा हुन्छ कहीँ!

हुँदो रहेछ, भइरहेकै छ।

यो सुबहालको जय मनोहर महाविहारस्थित महांकाल मन्दिरको कथा हो, जहाँ हरेक दसैंमा नवमीको रात भक्तजनहरूले आफ्नै शरीरको मासु काटेर वा छाला ताछेर यज्ञवेदीमा अर्पण गर्छन्।

आज म तपाईंहरूलाई यही पूजाविधि र यसको कथा सुनाउँदैछु।

धेरैलाई त सुबहाल कहाँ पर्छ भन्ने नै थाहा नहोला। काठमाडौं उपत्यकामा मूलसडकबाट भित्र गल्ली-चोकहरू चहार्दा यस्ता अनेकौं बहाल भेटिन्छन्, जहाँ प्रायः मान्छे बिरलै पुगेका हुन्छन्। सुबहाल त्यसैमध्ये एक हो।

म तपाईंहरूलाई त्यही ठाउँ लैजान्छु है त।

मंगलबजार दरबार स्क्वायरबाट ग्वार्कोतर्फ बढ्दा लगभग पाँच सय मिटर दुरीमा सुन्धारा (लूँ हिति) आउँछ। त्यहाँ पुगेर कुनै दोकानदारलाई सोध्नुभयो भने सुबहाल जाने बाटो देखाइदिन्छन्। अहिलेलाई त तपाईं चिन्ता नगर्नू, म छु नि सँगसँगै।

हामी सुन्धाराको मूलसडकबाट देब्रे मोडिऊँ र सरासर अघि बढौं। अलि पर बाटो छुट्टिन्छ। दुइटा मोटरसाइकल सजिलै हाँक्न मिल्ने दाहिने बाटो अलिकति बढ्दा गणेश मन्दिर छ। अहिले यहाँ मर्मतसम्भार हुँदैछ, तपाईंहरू जाँदा पूरा भइसक्न सक्छ। मन्दिरको ठ्याक्कै पछाडि फराकिलो ढोका छ। ढोका पार गरेपछि फराकिलो बहाल आउँछ। सुबहाल भनेको यही हो।

बहालमा स–साना चैत्यहरू देखिन्छन्। तिनै चैत्यबाट दाहिनेतिर एउटा पुरानो घर छ, जहाँ काठको ढोकामाथि काठकै कलात्मक तोरण टाँगिएको छ। माथिल्लो तल्लामा साइनबोर्ड झुन्डिएको देखिन्छ, जसमा लेखिएको छ– श्री जय मनोहर महाविहार, सौबहाः (सुबहाः), ललितपुर महानगरपालिका, वडा नम्बर ८, यलः।

पाटनको सुबहालस्थित जय मनोहर महाविहार छिर्ने ढोका। तस्बिर: सुदीप श्रेष्ठ/सेतोपाटी
यहाँ टाउको निहराउनुपर्ला है, ढोका होचो छ।

भित्र आँखैअगाडि देखिन्छ महाविहार, जसको छत भुइँचालोमा भत्किएर बनेकै छैन। जस्ताले छोपछाप पारिएको छ। विहारकै छेउमा दक्षिण फर्केको छ, महांकाल मन्दिर।

ठाउँ त आइपुगियो, अब हामी काठमाडौं उपत्यकामा सायदै अन्त देखिने अनौठो पूजाको चर्चा गरौं।

हामीसँग यो पूजाविधि र यससँग जोडिएको कथा विस्तार लगाउन ५० वर्षीय स्थानीय किरण शाक्य छन्।

हामी पुग्दा मन्दिरको ढोका बन्द रहेछ। मैले आँखीझ्यालबाट चिहाएँ। भित्र फराकिलो पूजाकक्ष थियो। त्यहीँ अर्को बन्द ढोका। ढोकाबाहिर नीलो पर्दा। पर्दामा तीनवटा आँखा र विभिन्न आकृति कुँदिएका। यसलाई महांकालको प्रतिरूप मानिने किरणले बताए।

नवमीको रात भक्तजनहरूले शरीरको मासु काटेर चढाउने ठाउँ यही हो। स्थानीयहरू यो संस्कारलाई ‘ला खायेगू’ भन्छन्। नेवार भाषामा ‘ला’ भनेको मासु, ‘खायेगू’ भनेको ताछ्नु।

यो पूजा राति ७ बजेतिर सुरू हुन्छ। दुई गुभाजू र छ जना आजु (सुबहालकै सबभन्दा जेठा व्यक्ति) ले पूजाविधि सम्पन्न गर्छन्। पूजा व्यवस्थापन उमेरअनुसार छैठौं नम्बरका आजुबाट हुन्छ। बाँकी पाँच जना आजुले चर्या गीत गाउँछन्। उनीहरू डमडम डमरू बजाउँछन्। छनछन ताः छन्काउँछन्।

यही डमडम र छनछन तालबीच गुभाजूहरूले टङटङ घन्टी बजाउँदै पूजा सुरू गर्छन्। पूजाकक्षमै मकलमा आगो बालेर होम गरिन्छ। जसै गुभाजूले ‘ला खायेगू’ सुरू गर्न इसारा गर्छन्, भक्तजनहरू पालैपालो पूजाकक्ष छिर्छन्।

यो संस्कार गर्दा नाइटोभन्दा तल्लो भागको मासु चढाउन पाइँदैन। नाइटोमाथि जुन भागको चढाउने हो, त्यहाँ सियोले घोचेर छालाको मसिनो पत्र उप्काइन्छ। त्यही पत्र धारिलो ब्लेडले चट्ट काटेर यज्ञवेदीमा चढाइन्छ।

‘ओहो निकै दुख्छ होला हगि?’ मैले तर्सिंदै सोधेँ।

उनले हाँस्दै जवाफ दिए, ‘चौटा–चौटा मासु चट्टचट्ट काट्ने कहाँ हो र! अलिकति छाला काटेर चढाउने हो।’

‘रगत त आउला नि!’ मेरो डर थामिएकै थिएन, ‘छिसिक्क काँडा बिझ्दा त कस्तो दुख्छ! झन् सियोले घोचेर ब्लेडले काट्दा दुख्दैन होला र!’

‘अलिअलि त दुख्छ नि। रगत पनि आउँछ। तर, तपाईंले सोचेजस्तो सहनै नसक्ने हुँदैन,’ उनले हलुका पारामा भने, ‘ब्लेडले काट्दा रगत आए पनि त्यो रगत आगोमा चढाउनु हुँदैन।’

उनले मलाई ढुक्क पार्न थपे, ‘अहिलेसम्म कसैलाई इन्फेक्सन भएको वा घाउ दुखेर औषधि नै खानुपरेको सुनेको छैन।’

बरू यसरी छाला काटेर चढाउँदा शरीरको दुखाइ निको हुन्छ भन्ने जनविश्वास रहेछ। त्यही भएर जुन भाग दुखेको हो, त्यहीँको छाला काटेर चढाउने चलन रहेको उनले बताए, ‘टाउको दुख्नेले निधारको छाला चढाउँछन्। ढाड दुख्नेले ढाडको, पेट दुख्नेले पेटकै चढाउँछन्।’

‘अनि एक ठाउँको मात्र चढाउने कि धेरै ठाउँको?’ मैले सोधेँ।

‘कसैले एक ठाउँको चढाउँछन्, कोही–कोही नडराउनेहरूले एकैचोटि १०–१२ ठाउँकै चढाउँछन्।’

बाफरे! कस्तो डर नलाग्ने हो क्या, आफ्नै जीउमा सियो रोप्न, आफ्नै जीउ ब्लेडले काट्न!

तपाईंहरूलाई डर लागेन!

किरणले भनेजस्तो छाला मात्र काटोस् या चौटा मासु नै झिकोस्, शरीरको अंग ताछ्न त मुटु दह्रै चाहिन्छ होला बाबै!

महांकाल मन्दिरमा शरीरको छाला काटेर चढाइँदै। तस्बिर सौजन्य: किरण शाक्यमहांकाल मन्दिरमा शरीरको छाला काटेर चढाइँदै। तस्बिर सौजन्य: किरण शाक्य
यति मात्र कहाँ हो र! सियोले घोच्दा र ब्लेडले ताछ्दा ‘ऐया’ भन्न नपाइने रहेछ। कसैले ‘ऐया’ भन्यो भने यसबाट पाइने पुण्य त्यही यज्ञवेदीमा स्वाहा हुन्छ रे!

त्यसैले डराउनेहरू भागै लिँदैनन्, किरणले भने, ‘हरेकले हरेक वर्ष भाग लिनुपर्छ भन्ने छैन। इच्छा हुनेहरू बर्सेनि आउँछन्, नभए कसैलाई करकाप छैन।’

उनी आफैंले जम्मा चारचोटि भाग लिएका रहेछन्। अन्तिमचोटि गरेकै बाह्र–पन्ध्र वर्ष बितिसकेछ। यसमा सरिक हुन सुबहालकै स्थानीय वा शाक्य कुलको हुनुपर्ने बन्देज छैन। टोलबाहिरका मान्छे आउने क्रम बढेको उनले बताए।

‘पहिले–पहिले केटाहरूले मात्र भाग लिने चलन थियो,’ उनले भने, ‘अचेल केटीहरूलाई पनि खुला छ। पोहोर मेरै छोरीले भाग लिइन्।’

अनि आफ्नो मासु आफैं काट्नुपर्छ कि अरूले काटे पनि हुन्छ?

मेरो यो प्रश्नमा किरणले भने, ‘मैले त आफैं काटेको थिएँ। कसैलाई अर्काले काट्दिन्छन्। काट्ने मान्छेको आँखा तेजिलो र हात नकाम्ने हुनुपर्छ। नभए ठूलो घाउ हुनसक्छ।’

उनका अनुसार, यो पूजाविधिमा सरिक हुनेको संख्या यकिन हुँदैन। कहिले जम्मा तीन–चार जना हुन्छन्, कहिले धेरै भएर पालो पर्खिनुपर्छ। मान्छे आइरहेसम्म पूजा चलिरहन्छ। सामान्यतया राति ९–१० बजेसम्म जारी रहने उनले बताए।

पूजाविधिपछि अब हामी कुरा गरौं यो संस्कारसँग जोडिएको कथाको।

आखिर कसरी सुरू भयो यस्तो अनौठो संस्कार?

स्थानीय किम्बदन्ती मान्ने हो भने यो करिब नौ सय वर्ष पुरानो चलन हो। यसलाई तत्कालीन समयमा दिइने ‘नरबलि’ को अवशेषका रूपमा लिइन्छ।

कसरी?

यसका लागि सुबहाल बस्ती र जय मनोहर महाविहार स्थापनाको कथा थाहा पाउनुपर्छ। यो महाविहार विक्रम सम्बत् ११८३ देखि ११९३ बीच तत्कालीन राजा इन्द्रदेवले स्थापना गराएको भनाइ छ।

कथा सुरू हुन्छ लिच्छविकालीन काठमाडौंको राजधानी हाँडीगाउँबाट।

विक्रम सम्बत् ९३६ तिर हाँडीगाउँ अर्थात् विशालनगरमा भयंकर आगलागी भयो, जसले स्थानीय बासिन्दाको जीवन तहसनहस पारिदियो। सबैको घरबार उजाडियो। धनसम्पत्ति नोक्सान भयो। लिच्छवि राजाहरूका दरबार ध्वस्त भए। मानगृह र कैलाशकूटजस्ता भव्य दरबार आगोको लप्कामा लपेटिए।

पुरातत्वविद् साफल्य अमात्यले आफ्नो किताब ‘काठमाडौं नगरायण’ मा लेखेअनुसार, आगलागीले विशालनगर क्षेत्रको बसाइ छिन्नभिन्न भयो। त्यहाँका बासिन्दा उपत्यकाभरि छरिएर बसोबास गर्न थाले। धेरै मानिस तत्कालीन दक्षिण कोलिग्राम (अहिले काठमाडौं कोर-सिटीको दक्षिणी भाग) सरे भने कोही ललितपुर गएर बसे। तिनैमध्ये सुबहालका बासिन्दा पनि हुन् भन्ने भनाइ छ।

सुबहालका चैत्यमा केही लिच्छविकालीन अभिलेख फेला परेका छन्, जसले यहाँको बसोबास प्राचीन भएको पुष्टि गर्छ।

किरण शाक्य। तस्बिर: सुदीप श्रेष्ठ/सेतोपाटी