पहिलो भेटमै दीपेन्द्रले देवयानीप्रतिको प्रेम लुकाउन सकेनन् !

जागृति खबर संवाददाता

काठमाडौं ।

युवराज दीपेन्द्र बेलायतको राजधानी लन्डनस्थित इटन कलेजमा पढ्दा उनका सहपाठी थिए चार्ल्स नामक बेलायती किशोर । चार्ल्सका बाबु त्यस बेला बेलायती संसद्का लर्ड थिए । र, चार्ल्सकी बहिनी थिइन्– शेली । युवराज दीपेन्द्रको बेलायत अध्ययन क्रममा ‘लोकल गार्जियन’ थिए, शेलीका बाबु लर्ड । युवराज दीपेन्द्र २०४४ देखि २०४८ सम्म लन्डन बसेका थिए ।

त्यसै बेला कुनै तालिमको सिलसिलामा देवयानी पनि लन्डन पुगेकी थिइन् । संयोग के भने लन्डन बसाइमै देवयानीकी साथी बनिन् शेली । र, शेलीका बाबुले नै देवयानीका निम्ति पनि लन्डन रहँदा ‘लोकल गार्जियनसिप’ लिएका थिए । फुर्सदमा देवयानी शेलीकहाँ पुग्थिन् भने दीपेन्द्र चार्ल्सकहाँ । जवानी चढ्दै गएका दीपेन्द्र र देवयानीको पहिलो भेट चार्ल्स र शेलीको घरमै भएको थियो ।

पश्चिमा मुलुकमा युवकयुवती बिनाहिचकिचाहट एकअर्कालाई प्रेम प्रस्ताव राख्न स्वतन्त्र हुन्छन् । उमेर पुगेका नेपाली शाही परिवार र राणा परिवारका यी दुई किशोरकिशोरीले पहिलो भेटमै एकअर्कालाई मनमनै मन पराइहाले । पहिलो भेटमै दीपेन्द्रले आफूमा पल्हाएको देवयानीप्रतिको प्रेम लुकाउन सकेनन् । उमेरमा देवयानी दीपेन्द्रभन्दा जेठी थिइन् ।

दीपेन्द्रले चार्ल्स एवं शेलीकै बीचमा त्यो दिन देवयानीलाई ठट्टैठट्टामा भने रे, ‘तिमी त नेपालकी बडामहारानी हुन लायक रहिछौ नि यार ।’ यसरी त्यो दिनदेखि सुरु भयो दीपेन्द्र र देवयानीबीचको प्रेमको सिलसिला ।

देवयानीको युवराजसँग प्रेम छ भन्ने जानकारी राजारानीले पाए पनि देवयानीका मातापिता पशुपतिशमशेर र उषाराजे सिन्धिया राणा २०५३ सम्म अनभिज्ञ थिए । यही अवधिमा दीपेन्द्रको सुप्रिया शाहसँग पनि ‘अफेयर्स’ चलिरहेको थियो, जो मुमा बडामहारानी रत्नकी दिदीकी नातिनी थिइन् ।

दीपेन्द्रको उमेर घर्किंदै जाँदा युवराज्ञीका लागि दरबारका छनोटमा तीन युवती थिए– गरिमा राणा, सुप्रिया शाह र देवयानी राणा । यीमध्ये दरबारका लागि सुप्रिया पहिलो नम्बरकी योग्य बधु थिइन् भने दीपेन्द्रको पहिलो छनोटमा देवयानी । २०५० को एसएलसीकी बोर्ड फस्ट गरिमा चाहिँ राणा परिवार र शैक्षिक योग्यताका कारण चर्चामा थिइन् ।

यसै क्रममा मुमा बडामहारानी रत्नले उनले देवयानीकी आमा उषाराजेसँग पनि प्रेम प्रसंगबारे बुझबुझारथ गरेकी थिइन् । त्यसपछि मात्र उषाले युवराज दीपेन्द्र र आफ्नी छोरी देवयानीबीच प्रेम सम्बन्ध रहेको चाल पाएकी थिइन् । उषाले भनिन् रे, ‘मेरी छोरी देवयानी मेरी मुमा (भारत, ग्वालियरकी रानी विजयाराजे सिन्धिया) सँग बसेर ज्यादै सम्पन्नतामा हुर्केकी छे । तर नेपालको राजपरिवार आर्थिक दृष्टिले दरिद्र छ, त्यहाँभित्र छोरीको जीविका कसरी चल्छ होला र ?’ देवयानीकी मावली हजुरआमा विजयाराजे सिन्धिया खड्गशमशेर (वीरशमशरेका भाइ) की ल्याइते श्रीमतीतर्फकी नातिनी थिइन् ।

युवराज दीपेन्द्रलाई आमाले खटाएर दिएको खर्चबाट गुजारा गर्नुपर्ने बाध्यता थियो भने पशुपतिपुत्री देवयानीलाई पैसाको कुनै पर्वाह थिएन । त्यतिबेलै पनि राजधानीका बैंकमा देवयानीको नाममा ५ करोड रुपैयाँभन्दा बढी बचत थियो । तर दीपेन्द्रले भने युवराज भएबापत नेपाल सरकारबाट प्राप्त गर्ने वार्षिक २४ लाख रकममध्ये थोरैमात्र रकम आमा ऐश्वर्यबाट अड्कली–अड्कली पाउँथे ।

‘नेपालको राजपरिवार दरिद्र छ’ भन्ने उषाराजेको शब्दावली आफ्नो कानमा परेपछि रानी ऐश्वर्यले देवयानीसँग कुनै पनि हालतमा बिहे हुन नसक्ने अड्डी लिइन् । यस मामलामा राजा वीरेन्द्र निरीह र लाचार थिए । उनले कुनै हस्तक्षेप गर्न चाहेनन् । देवयानीलाई युवराज्ञी बनाउँदा भारतीय प्रभाव बढ्न सक्ने दरबारिया आकलन पनि नभएको होइन ।

यति हुँदाहुँदै पनि दीपेन्द्र एक दिन पनि देवयानीलाई नभेटिरहन सक्थेनन् । त्यसो त देवयानीले दीपेन्द्रसँग ‘प्रेम सम्बन्ध अन्त्य गरौं न त’ भन्ने प्रस्ताव समेत राखेकी थिइन् । तर उनी राजी भएनन् । सुन्दरी देवयानीको बिहेका लागि भारतको जोधपुर, भागलपुर, बरौदालगायत पुराना राज्यका राजकुमारसँग कुराकानी चल्दै थियो ।

दीपेन्द्र देवयानीको प्रेममा देवदास नै भएका थिए । आफूसँग बिहे नगरे बिष खाएर मर्ने चेतावनीसमेत दिएका थिए । भेटघाट र भलाकुसारीमा मात्रै दीपेन्द्र र देवयानीको प्रेम सीमित थिएन, उनीहरु विदेश जाँदा एकअर्काले उपहारसमेत ल्याइदिने गरेका थिए । युवराज दीपेन्द्रले हातमा बाँधेको डेढ लाख मूल्य बराबर ओमेगा घडी देवयानीले विदेशबाट ल्याइदिएकी थिइन् । दीपेन्द्रले अक्सर बोक्ने भिडियो क्यामरासमेत देवयानीले नै ल्याइदिएको उपहार थियो ।

आफ्ना प्रिय प्रेमीका निम्ति देवयानी कतिसम्म खर्च गर्थिन् भने, उनले बेलायतबाट फर्कंदा एउटा यस्तो टिसर्ट उपहारस्वरुप ल्याइन्, जसको मूल्यमात्रै १ हजार पाउन्डभन्दा बढी थियो । दीपेन्द्रले पनि देवयानीलाई टिसर्ट, पाइन्ट, कुर्ता सलवार र जुत्ता ल्याइदिएका थिए ।

यसरी २०४८ देखि मौलाएको दीपेन्द्र–देवयानी प्रेमालाप केही गरी नतोडिने भएपछि गरिमा राणा सबैभन्दा पहिले ‘साइड’ लागिन् । उनले एक चिकित्सकसँग घरजम गरिन् । पछि सुप्रियाले पनि त्यही बाटो पछ्याइन् ।

युवराज दीपेन्द्रले आफ्नै लागि बरौदाका राजकुमारलाई रित्तो हात फर्काएकी देवयानीलाई धोका दिनु उचित सम्झेनन् । प्रेममा उनी कति अन्धा थिए भने २०५८ जेठ १९ गते राति आफ्नै मातापिता, भाइबहिनी, नातेदारलगायत १० जनाको ज्यान जाने गरी गोली चलाए । र, अन्त्यमा उनी आफै पनि मारिए ।