पहिलो हाफमा बंगलादेशलाई १–० को अग्रता

जागृति खबर संवाददाता

काठमाडौं, २७ असोज ।

पुरुष साफ च्याम्पियनसिप अन्तर्गत सिंगल राउण्ड रोबिनको चौथो तथा अन्तिम खेलमा अहिले नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ । माल्दिभ्सको माले स्थित राष्ट्रिय रंगशालामा जारी पहिलो हाफको खेल सकिँदा बंगलादेशले नेपालविरुद्ध १–० को अग्रता बनाएको छ ।

बंगलादेशका सुमन रेजाले खेलको ९ मिनेटमा सुरुवाती अग्रता लिएका हुन् । कप्तान जमल भुयानले दिएको फ्रिकिक पासमा सुमनले सिक्स यार्ड बक्सबाट हेडिङ गोल गरेका थिए ।

यस अघि खेलको १५ मिनेटमा नेपालले गोलको मौका गुमायो । आयुष घलानले उपलब्ध गराएको बललाई सिक्स यार्ड बक्सबाट मिडफिल्डर रोहित चन्दले क्रसबार माथि प्रहार गरे ।

आज बंगलादेशविरुद्ध नेपालले जित वा बराबर गरे साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनल स्थान बनाउने छ । नेपालको हारले भने बंगलादेश फाइनल पुग्नेछ ।

सन् १९९३ बाट सुरु भएको साफको १३ औं संस्करण आईपुग्दा नेपाल हालसम्म फाइनल पुग्न सकेको छैन ।