बुद्ध एयरका कर्मचारीहरूको श्रम शोषण, सबै जहाजमा समस्याः पाइलटलाई कारवाही

जागृति खबर संवाददाता

काठमाडौं, २६ असोज ।

बुद्ध एयर प्रालिले चौबिस वर्षअघि एउटा जहाजबाट व्यावसायिक यात्रा थालेको थियो । नेपालको सफल निजी विमान कम्पनी बुद्धसँग अहिले १५ वटा त जहाज पुगेका छन् । उसको यो तरक्कीमाचुस्त व्यवस्थापनसँगै इमानदार र जाँगरिला कर्मचारीको पनि उत्तिकै योगदान रहेको छ । आफ्नो श्रम र पसिना बगाएर संस्थालाई फलाएका फुलाएका बुद्धका कर्मचारी कोरोनाकालदेखि भने बेस्सरी शोषणमा परेको गुनासो गर्न थालेका छन् ।

२०७६ चैतमा लकडाउन घोषणासँगै केही महिना बुद्धको व्यापार खस्किएको थियो । यही कारण देखाएर उसले खाईपाई आएको ८० प्रतिशत तलब–भत्ता कटौती गरेर २० प्रतिशत मात्र उपलब्ध गराएको थियो । संस्था जोगाउनका निम्ति बुद्धले त्यतिबेला चालेको कदम नाजायज नै चाहिं थिएन । दोस्रो लहरमा केही समय उडान अवरुद्ध भए पनि बुद्धको व्यापार गुल्जार नै रहेको छ । बुद्धका एक उच्च कर्मचारीका अनुसार, कोरोनाकालमै बुद्धले व्यापार चम्काएर २ वटा एटीआर जहाज थपेको छ ।

अहिले विभिन्न पेशा व्यवसायमा मन्दी आए पनि उडानका क्रममा बुद्धका सबै सिट फुल हुने गरेका छन् । तर कर्मचारीलाई कोरोना बहानामा शोषण गर्ने सिलसिला भने अहिले पनि जारी राखिएको गुनासो प्राप्त भएको छ । बुद्धमा लोडर, ड्राइभरदेखि पाइलटसम्मका पदमा झण्डै ८०० कर्मचारी कार्यरत छन् । एकजनापीडित कर्मचारीका अनुसार, कोरोनाले व्यापार खस्किएको भन्दै अहिले ६० प्रतिशत मात्र तलब भत्ता दिइएको छ ।

‘क्रू मेम्बरले जीवन हत्केलामा राखेर दिन–रात नभनी, खराब मौसमको प्रवाह नगरी थोत्रा जहाज ८ घण्टासम्म उडाउनु पर्छ,’ एकजनाक्रूमेम्बरलेदुखेसो गरे, ‘यात्रु भरिभराउ हुन्छन् । तर तलब भने नोक्सानीको बहानामा काट्ने काम भइरहेको छ ।’

विगतमा कर्मचारीलाई स्टेटमेन्टसहित तलब वितरण गर्ने गरिएको थियो । तर अहिले बुद्धको व्यवस्थापनले हावाको भरमा अपुरो तलब वितरण गर्ने गरेको छ । यसबारे गुनासो गर्दा व्यवस्थापनबाट धम्क्याउने कार्य भएको गुनासो प्राप्त भएको छ ।

दशैंमा साना ठूला, सरकारी, निजी सबै कार्यालयले कर्मचारीलाई पेस्की उपलब्ध गराउने गरेका छन् । बुद्धका कर्मचारीले गत वर्ष पनि पेस्कीको मुख देखेनन् भने यस वर्ष अहिलेसम्म खातामा पेस्की हालिएको छैन । एकातिर तलब पनि पूरा नदिने र अर्कातिर दशैं खर्च पनि नहाल्ने रवैयाले बुद्धका कर्मचारी आक्रोसित बनेका छन् ।

बहुसंख्यक कर्मचारीको शोषण गरेको आरोप खेपिरहेको बुद्धले बढी काम लाग्ने पाइलट–इन्जिनियर र हेडअफिसका कर्मचारीलाई भने पुरै तबल सुविधा खुवाइरहेको एक कर्मचारी बताउँछन् । त्यति मात्रै होइन, उनीहरूलाई लाखौं नगद र कोसेलीसमेत दिएर खुसी पार्ने काम भएको बताइन्छ ।

कर्मचारी आक्रोसित
बुद्ध एयरमा शोषणको सिलसिला जारी रहेपछि कर्मचारी रुष्ट बनेका छन् । असन्तुष्ट कर्मचारीले दोस्रो पटक व्यवस्थापनलाई आफ्ना विषय राखेका छन् । तर सुनुवाइ नभएको भनदै दुःख व्यक्त गरेका छन् ।
व्यवस्थापनबाट अटेरी भएपछि कर्मचारीले तेस्रो चरणमा बुद्धका अनैतिक कार्य भण्डाफोर गर्ने तयारी गरेका छन् । ‘बुद्ध एयरका धेरै अनैतिक काम छन् । त्यसलाई अहिलेसम्म हामीले भण्डाफोर गरेका छैनौं । यस्तै हर्कत जारी राखे सबै सार्वजनिक गर्न बाध्य हुनेछौ,’ एक कर्मचारीले भने ।

१५ वटै जहाजमा समस्या
बुद्ध एयरसँग अहिले साना ठूला गरेर १५ वटा जहाज छन् । यीमध्ये अधिकांश वर्षौं पुराना छन् । बुद्धमा कार्यरत एक इन्जिनियरका अनुसार, उसका सबैजसो जहाजमा कुनै न कुनै समस्या छन् ।
भर्खरै मात्र काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्धको जहाजमा समस्या आएको थियो । जहाजको पांग्रा नखुलेपछि पाइलटले निकै सुझबुझका साथ ल्यान्डिङ गराएर सम्भावित ठूलो क्षति रोकेका थिए । सोही दिन अर्को जहाजमा पनि प्राविधिक समस्या देखिएको थियो । बुद्धका एक पाइलटका अनुसार, बुद्धका जहाजमा समस्या नआएको दिन नै हुँदैन । एक कर्मचरीका अनुसार, यही कारण बुद्धका मालिक वीरेन्द्र बस्नेत समेत आफ्ना जहाज चढ्न हिच्किचाउने गरेका छन् ।

विराटनगर प्रकरणपछि जसरी भए पनि तोकिएको ठाउँमा ल्यान्ड गर्न वीरेन्द्र बस्नेतले ठाडो आदेश जारी गरेका छन् । जवकि, वायु सेवा कम्पनीले यसरी समस्याबीच प्लेन ल्यान्ड गराउन मिल्दैन ।

खराब मौसममा जहाज नउडाउँदा स्पष्टीकरण
उडानमा मौसमको अहं भूमिका हुन्छ । मौसम खराब छ भने जहाज उडाइँदैन । तर बुद्धमा खराब मौसममा जहाज नउडाउँदा स्पष्टीकरण सोध्ने काम व्यवस्थापनबाट भएको छ ।
उता, काठमाडौं विराटनगरको फ्लाइटमा ७७ जनाको ज्यान जोगाउने क्याप्टेन आङगेलु शेर्पालाई पुरस्कृत गर्नुको साटो कारबाही गरिएको छ । शेर्पाको दोष रहेको देखाउन समस्याग्रस्त जहाजलाई भने भोलिपल्टबाटै उडाइएको छ । ‘आङगेलु डाइमन्ड हुन् । उनलाई एक औंला देखाउँदा चार औंला वीरेन्द्रतिर फर्केको छ,’ एक कर्मचारी भन्छन् ।