गजुरेलले दोस्रो विवाह गरेपछि पूर्वपत्नी मिना ढकालको फेसबुक स्टाटसतर्फ के लेखिन् त्यस्तो ?

जागृति खबर संवाददाता

काठमाडौं ।

चर्चित हास्यकलाकार मनोज गजुरेल वैवाहिक जीवनमा बाँधिएका छन् । उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग सोमबार विवाह गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस र तस्वीर राख्दै गजुरेलले आफूहरु विवाह बन्धनमा बाँधिएको जानकारी दिएका हुन् । मनोज र मञ्जुले भक्तपुरको डोलेश्वर मन्दिरमा विवाह गरेका हुन् ।

दोस्रो विवाह गरेका मनोजको पहिलो विवाह चार वर्षअघि सम्बन्ध विच्छेदमा टुंगिएको थियो । पहिलो श्रीमतीका तर्फबाट मनोजका एक छोरा र एक छोरी छन् । सामाजिक सञ्जाल मार्फत गजुरेलले आफ्नो बारेमा काल्पनिक समाचार नलेखिदिन पनि सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन् ।

आफन्त, साथी तथा शुभचिन्तकहरुमा सुखद जानकारी !, जीवन सधैँ सरल रेखामा नहिंड्ने रहेछ । मेरो लामो वैवाहिक जीवन ४ बर्षपहिले कानुनीरुपमा टुंगिएको कुरा यहाँहरुलाई विदितै छ । त्यसयता म मेरा छोरा र छोरीको एकल अभिभावक भएर बसिरहेको जानकारी पनि जगजाहेर नै छ ।

जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविकै हो । त्यसैगरी मेरा बाबु-नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा पनि संवेदनशिल हुनु जरुरी थियो । यी दुबै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो ।

बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो । यसै क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो । बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो । एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं ।

एकअर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने बाचा गर्याैं । अगाडि आईपर्ने सु:ख/दु:खलाई मिलेर स्वीकार र प्रतिकार गर्ने संकल्प लियाैं । हामीलाई यो निर्णयमा पुग्न हाम्रा बाबुनानीहरुको सुझाव र सहमतीले पनि ठूलो मद्धत गर्यो ।

सम्पुर्ण मिडियाकर्मी साथीहरुलाई सादर अनुरोध छ- कृपया मेरो व्यक्तिगत जीवनका बारेमा काल्पनिक समाचार नलेखिदिनुहोला । मन्जुजीको इज्जत र प्रतिष्ठामा आँच आउने अमर्यादित कथा नकथिदिनुहोला । हाम्रा सन्तानको सुख र शान्तीकालागी परपीडक ट्रोल र भिडियो नबनाईदिनु होला !

कसैको निजी जीवनका बारेमा कपोकल्पित समाचार बनाउने, असम्बन्धित मान्छेसँग नाम जाेड्ने, हाम्रो विगतको जीवन, वर्तमानको विवाह तथा भविस्यको योजनाका बारेमा अनुमानकारिता नगर्नुहुन पनि अनुरोध गर्दछु । त्यसैगरी हाम्रो नितान्त व्यक्तिगत मामिलाका बारेमा अनाबश्यक सामग्री बनाउने कानुनी, व्यवहारिक र सामाजिक अनुमति कसैलाई नभएको कुरापनि जोडदार रुपमा जाहेर गर्दछु ।

बिगतका अराजक अन्तर्वार्ता, असामाजिक क्रियाकलाप तथा अभद्र व्यवहारका कारण म र मेरा छोराछोरीले ठूलो आघातबाट गुज्रनु परेको छ । त्यस्ता क्रियाकलापलाई स्थान दिने, उचाल्ने र गिजोल्ने युट्युब, अनलाइन समाचार, टिकटक लगायत संजालका प्रयोगकर्ताहरुलाई पनि भद्र सुझाव छ- कृपया एउटा जिम्मेवार अभिभावक भएर बोल्ने र लेख्ने गर्नुहोला । सामाजिक सन्जालको चरम दुरुपयोगले आफू र आफ्ना सन्तानलाई पार्न सक्ने गंभिर असरलाई पनि महशुस गर्नुहोला ।

मनोज गजुरेलको विवाह भएको समाचार सार्वजनिक भएपछि उनकी पूर्वपत्नी मिना ढकालले कस्तो प्रतिक्रिया दिन्छिन् भन्नेतर्फ धेरैको चासो छ । यही बीच गजुरेलकी पूर्वपत्नी ढकालले प्रतिक्रिया दिएकी हुन् । स्टप स्टप स्टप भन्दैं ढकालले ईन्बक्समा अनावश्यक म्यासेज नगर्न भनेकी हुन् ।

उनले शुभचिन्तक र आफन्तहरुले मनोजले विवाह गरेको फोटो उनलाई म्यासेन्जरमा पठाउन सुरु गरेपछी उनले वाहियात म्यासेज इनबक्समा नपठाउन भन्दैं स्टाटस लेखेकी हुन् ।

उनले आफ्ना पूर्वपतिको दोस्रो बिहेलाई ईंगित गर्दै अर्को स्टाटस समेत लेखेकी छन्् । उनले दार्शनिक स्वभावका मुकुन्द घिमिरे उर्फ मुकुन्देको फेसबुक स्टाटसलाई शेयर गर्दै त्यही त नि, के नै ठूलो र नौलो काम गर्या होर ? भन्दैं क्याप्सन लेखेकी छन् ।