कर्फ्यू आदेशपछि पनि रुपन्देहीको मोतिपुर तनावग्रस्त, सर्वपक्षीय बैठकबाट निकास खोज्ने प्रयास

जागृति खबर संवाददाता

काठमाडौँ, २५ असोज ।

औद्योगिक क्षेत्रको जग्गा खाली गराउँदा सुरक्षाकर्मी र स्थानीयबीचको झडपले तनावग्रस्त बनेको रुपन्देहीको मोतिपुर क्षेत्रमा अहिले पनि स्थानीयले प्रदर्शन जारी राखेका छन्।

मोतिपुर औद्योगिक क्षेत्रको जग्गा खाली गराउने क्रममा जग्गा ‘कब्जा’ गरेर बस्दै आएका स्थानीय र सुरक्षाकर्मीबीच आइतबार दिउँसो झडप भएको थियो। झडपका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर केहीको मृत्यु भएपछि स्थानीयले प्रदर्शन थप चर्काएका थिए।

यसबीच स्थानीय प्रशासनले अपराह्न ४ बजेदेखि मोतिपुर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो। तर, स्थानीयले भने कर्फ्यूका बीच पनि विरोध प्रदर्शन जारी राखेका छन्।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवरले प्रदर्शन थप चर्किएपछि शान्ति व्यवस्था कायम राख्न थप सुरक्षाकर्मी परिचालन गरिएको बताए।

एसएसपी कुँवरका अनुसार झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर अहिलेसम्म ४ जना सर्वसाधारणको मृत्यु भएको छ। झडपमा क्रममा सर्वसाधारणतर्फत करिब २० जना र सुरक्षाकर्मीतर्फ ८ जना घाइते भएका प्रहरी प्रवक्ता कुँवरको भनाइ छ।

२० जना घाइतेमध्ये ४ जनाको मृत्यु भएको हो। अन्य घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजसहित अन्य अस्पतालमा पनि उपचार भइरहेको छ।

युनिभर्सल मेडिकल कलेजका सूचना अधिकारी तेज केसीका अनुसार अस्पतालमा उपचाररत घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ।

‘गोली लागेर घाइते भएका १३ जनालाई उपचारका लागि यहाँ ल्याइएको थियो। त्यसमा ५ जना प्रहरी हुन्,’ केसीले भने,‘४ जनाको मृत्यु भएको छ। ९ जना उपचार भइरहेको छ। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ।’

सर्वदलीय बैठक जारी
कर्फ्यू आदेपछि पनि मोतिपुरको अवस्था सामान्य नभएपछि अहिले सर्वदलीय बैठक बसिरहेको छ।

सर्वदलीय सर्वपक्षीय बैठकमा सबै राजनीतिक दलका प्रतिनिधिसहित स्थानीय जनप्रतिनिधि, औद्योगिक क्षेत्रका स्थानीय र स्थानीय प्रशासनका प्रतिनिधि पनि सहभागी रहेका जनाइएको छ।