रुपन्देही घटना : गोली लागेर मृत्यु भएका तीन जनाको सनाखत हुन सकेन ?

जागृति खबर संवाददाता

बुटवल, २५ असोज ।

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुरक्षाकर्मीले चलाएको गोली लागेर आइतबार मृत्यु भएका चार जनामध्ये तीन जनाको सनाखत हुन सकेको छैन । गोली लागेर गम्भीर घाइते भएर उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएका तीन जनाको अहिलेसम्म सनाखत हुन नसकेको हो ।

कपिलवस्तु वाणगंगा-१० का २० वर्षीय रमेश परियारको मात्रै सनाखत भएको छ । मृतकको शव भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा राखिएको छ । आइतबार दिउँसो भएको घटनामा १६ जना सर्वसाधारण घाइते भएका थिए । १६ जनामध्ये चार जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । झडपमा परी ३१ जना सुरक्षाकर्मी घाइते भएका छन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले नेपाल प्रहरीका १६ र सशस्त्र प्रहरीका १५ जना गरी ३१ जना घाइते भएको जानकारी दिए । आइतबार अपरान्ह प्रहरीलाई लक्षित गरी प्रदर्शनकारीले ढुंगामुढासँगै पेट्रोल बम प्रहार गरेपछि गोली चलाउनु परेको प्रजिअ तिवारीले बताए ।

उनले सार्वजनिक सम्पत्तिको रक्षा गर्न खटिएका प्रहरीमाथि ढुंगामुढासँगै पेट्रोल बम प्रहार गरेपछि प्रहरीले आफ्नो ज्यान जोगाउन गोली चलाउनु परेको बताए । ‘प्रहरी प्रशासनले संयमता नअपनाएको भए ठूलो क्षति हुने अवस्था थियो’, तिवारीले भने, ‘लाठीचार्ज, अश्रुग्यास, हवाई फायर गर्दा पनि स्थिति नियन्त्रणमा नआएपछि गोली चलाउनु परेको हो ।

विगत एक सातादेखि मोतिपुर औद्योगिक क्षेत्रमा ठूलो संख्यामा प्रदर्शनकारी जम्मा भएर सार्वजनिक जग्गा कब्जा गरेर घरटहरा बनाउन लागेपछि सुरक्षाकर्मीले टहरा भत्काउन थालेकाे हाे ।