‘माधव नेपालसहित १४ जनालाई निष्कासन गरेको सूचना नटाँसेसम्म अवरुद्ध हुन्छ’

जागृति खबर संवाददाता

काठमाडौं, २७ भाद्र ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवाष नेम्वाङले प्रतिनिधिसभा बैठक सुरु गराउन पहल नगरेको भन्दै सत्तापक्ष र सभामुख दुवैप्रति आक्रोश व्यक्त गरेका छन् ।

पूर्व सभामुखसमेत रहेका नेम्वाङले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो दलमाथि भेदभाव गरेकाले संसद अवरुद्ध पार्नु परेको स्पष्ट पारे । उनले यो स्थिति कहिलेसम्म अन्त्य हुन्छ ? भन्दै प्रश्नसमेत गरेका थिए ।

आइतबार संसद भवन परिसरमा उनले संसद अवरुद्ध भइरहने स्थितिको अन्त्य कहिले गर्नु हुन्छ भनेर सरकारलाई प्रश्न गरिदिन सञ्चारकर्मीलाई आग्रह गरे । उनले भने, ‘ ‘संसद बैठक अवरुद्ध हुने यो स्थितिलाई कहिलेसम्म कायम राख्नुहुन्छ ? कहिलेसम्म हामीप्रति भेदभाव भइरहेको छ, त्यो भेदभावको स्थिति कहिले अन्त्य हुन्छ भनेर प्रतिपक्षले महसुस गर्ने कहिलेसम्म हो ? यस्तो भइरहँदा सत्तापक्ष र सभामुखले अहिलेसम्म कुरा नगरिकन, छलफल नगरिकन बसी राख्न सक्नु हुन्छ ?

उनले माधवकुमार नेपालसहितका आफ्ना पार्टीले निष्काशन गरेका १४ जना सांसदहरुको सूचना संसद सचिवालयमा टाँस नगरुञ्जेल अवरुद्ध प्रतिनिधिसभा बैठक खुलाउन नसक्ने पार्टीको अडान समेत दोेहो¥याए ।