भक्तपुरमा कांग्रेस–माओवादी छाड्दै दर्जनौ युवा एमाले प्रवेश

जागृति खबर संवाददाता

भक्तपुर, २७ भाद्र ।

भक्तपुरमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं युवाहरु एमालेमा प्रवेश गरेका छन् । हिजो नेकपा एमाले मध्यपुर थिमी नगरपालिका वडा नं. १ वडा संगठन कमिटीले आयोजना गरेको राष्ट्रिय युवा संघ नेपालको मध्यपुर थिमी नगरपालिका वडा नं १.वडा कमिटी घोषणा तथा पा@र्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस र माओवादी केन्द्र परित्याग गरी ५५ जना एमालेमा प्रवेश गरेका हुन् । नवप्रवेशीलाई एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले अविर तथा खादा लगाई पार्टीमा स्वागत गर्नुभएको छ ।

नवप्रवेशीले कांग्रेस–माओवादीले जनताको आवाज र आवश्यकतालाई पुरा गर्न नसकेको भन्दै आफूहरुलाई एमालेको विकल्प नभएकाले प्रवेश गरेको उल्लेख गरे । कांग्रेस–माओवादी देश र जनताको पक्षमा नभई विदेशीको इसारामा मुलुकलाई अस्थिरताको खाडमा डुवाउने खेलमा लागेकाले मुलुककको रक्षा तथा विकास र समृद्धिको यात्रामा अगाडि बढाउन एमालेको विकल्प नभएको उनीहरुले दावी समेत गरे ।

कार्यक्रममा बोल्दै नेता बस्नेतले एमाले नेपाली युवाहरुको एकमात्र पार्टी भएको उल्लेख गर्दै नवप्रवेशीले हिजो आशका भरमा राजनीति गर्नुपर्नेमा अव आफै नेतृत्व गर्ने ठाउँमा आएको बताउनुभयो । योग्यता र क्षमताको आधारमा उचित जिम्मेवारी दिई पार्टी तथा मुलुक निर्माणको अभियानमा लाग्न नवप्रवेशी तथा आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।

निर्वाचन आउनै लागेको समयमा कार्यकर्ताको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै नेता बस्नेतले कांग्रेस, माओवादी तथा माधव नेपालको पार्टीले भक्तपुरमा एमालेलाई चुनौति दिन नसक्ने समेत ठोकुवा गर्नुभयो । माओवादीले अघिल्लो निर्वाचनमा समेत एक वटा वडा समेत जित्न नसकेको स्मरण गराउँदै नेता बस्नेतले आगामी निर्वाचनमा भक्तपुरमा माओवादीको जमानत जफत हुने समेत दावी गर्नुभयो । कार्यक्रममा एमाले जिल्ला कमिटी अध्यक्ष बचन देउवा, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, एमाले जिल्ला कमिटी सदस्य उत्तरा नेपाललगायतका नेताहरुको सहभागिता रहेको थियो ।