सभामुखलाई महाअभियोग लगाएर हटाउँनुपर्छः महेश बस्नेत

जागृति खबर संवाददाता

काठमाडौं, २७ भाद्र ।

नेकपा एमालेका नेता महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाउनुपर्ने बताएका छन् । सभामुख सापकोटाले नेकपा एमाले विभाजनका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै नेता बस्नेतले सभामुखलाई महाअभियोगसम्म लगाउनुपर्ने बताए ।

सिंहदरवारमा जारी संसदीय दलको बैठकमा उनले भने, ‘सभामुखलाई महाअभियोगसम्म लगाउनेतर्फ ध्यान दिनुपर्छ ।’ सभामुखले एमालेले कारवाही सिफारिस गरेपनि सभामुखले सूचना नटाँसेको भन्दै सभामुखको भूमिकाप्रति एमालेले असन्तुष्टि जनाउँदै आएको छ ।

संसदीय दलको बैठकमा बोल्ने अभिकांश सांसदहरुले संसद बैठक सहज रुपमा सुचारु हुन दिन नहुने भन्दै नेतृत्वलाई सुझाव दिइरहेका छन् । सभामुखको गतिविधि गैरकानुनी रुपमा अघि बढेको र बढाएको भन्दै सशक्त प्रतिवाद गर्नुपर्ने धारणा राखेका छन् ।

एमाले दलको बैठकमा तुलसा थापा र माया ज्ञवालीपनि सहभागि हुनुभएको छ । नेकपा एमालेको उपाध्यक्षबाट बामदेव गौतमले राजीनामा दिएर बस्नुभएको छ । पार्टी परित्याग गरेर हिँडेका बामदेव पत्नि थापा आजको बैठकमा सहभागी हुनुभएको राष्ट्रिय सभा सांसद कोमल वलीले बताउनुभएको छ ।