ओली र नेपाल जहाजमा गएपछि प्रचण्डकाे कम्मरबाट बाबुरामले किन थुते पेस्ताेल ?

जागृति खबर संवाददाता

प्रशान्त रोका-रुकुम

०५२ साल फागुन १ गते रोल्पाको पश्चिमी भूभागमा पर्ने होलेरी चौकी आक्रमण गरेर माओवादीले १० वर्षे लामो जनयुद्ध सुरु गर्यो।

सर्वहारा वर्गको मुक्तिको लागि भन्दै माओवादीले सुरुको गरेको युद्धमा हजारौंले ज्यान गुमाए। लाखौं घाइते भए। कयौं अंगभंग भए। र कयौ वेपत्ता भए, जसका आजसम्म पनि कुनै खबर छैन।

युद्धमा घाइते, अपांग र वेपत्ता भएकाहरुको लागि न्यायोचित कदम चाल्न देशैभरका जिल्लाकम शान्ति समितिहरु गठन नगरिएका पनि होइनन्। तर, अवस्था उस्तै छ।

मावोवादी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’, वर्षमान पुन ‘अनन्त’, कृष्णबहादुर महरा, नन्दकिशोर पुन ‘पासाङ’, नेत्रविक्रम चन्द विप्लवसहित नेतृत्वमा रहेका दुई दर्जनभन्दा बढी नेताहरुको उपस्थितिमा चुनवाङमा बैठक बसिरहेको बेला राजधानीमा भने नेकपा (एमाले)ले संवाद र सहमतिको बाटोबाट माओवादीलाई शान्तिपूर्ण राजनीतिको मुलधारमा ल्याउन योजना बनाइरहेको थियो।

त्यतिबेला शान्तिपूर्ण सम्झौताकै लागि एमाले नेता वामदेव गौतमसमेत रोल्पा पुगे। चुनवाङ बैठकपछि संसदीय दलहरुसँग सहमतिमा आउन माओवादीले नयाँ म्यान्डेट तयार पार्यो। माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन एमालले पहिलो भूमिका निभाएकाे थियाे।

०६२ कार्तिक ६ गते रोल्पाको घर्तिगाउँमा एमाले र माओवादीबीच पहिलो पटक ६ बुँदे सम्झौतासमेत भयो। सम्झौतामा माओवादीको तर्फबाट प्रचण्ड, बाबुराम भट्टराई र कृष्ण बहादुर महराले हस्ताक्ष्र गरे भने एमालेको तर्फबाट वामदेम गौतम र युवराज ज्ञवालीले हस्ताक्षर गरे।

सम्झौताको मुख्य सार भनेकै राजतन्त्रलाई प्रहार गर्नु थियो। वास्तवमा सुरुमा यस सम्झौतालाई गोप्य राख्ने भनिए पनि एउटा पत्रिकाले सम्झौताका सबै बुँदासहित प्रकाशित गर्यो। त्यसपछि भने नेपालको राजनीतिले नयाँ मोड लियो।

अनि प्रचण्ड ११ दिन हिँडेर दिल्ली पुगे

त्यसो त वामदेव रोल्पा नपुगेको भए सात दल र माओवादीबीच १२ बुँदे समझदारीको लागि बाटो खुल्ने थिएन। वास्तवमा प्रचण्डले गिरिजाप्रसाद कोइराला र माधव नेपाललाई पनि सम्झौताको लागि आधार इलाका रोल्पामै बोलाएका थिए।

यहाँ सम्म कि प्रचण्डले कोइराला र नेपाललाई दाङसम्म गाडीमा ल्याउन र त्यहाँबाट रोल्पासम्म घोडामा चढाएर पुर्याउने योजना बनाए। तर उमेर ढल्किसकेका कोइरालाले भने आफ्नो स्वास्थ समस्याको कारण घोडामा चढ्न नसक्ने भन्दै रोल्पा पुग्न ठाडै अस्वीकार गरे। बरु उनले प्रचण्डलाई नै सम्झौताको लागि दिल्ली पुग्न पत्र लेखे।

वास्तवमा कोइरालाले स्वास्थ्यको समस्या देखाए पनि उनी माओवादीकै आधार इलाकामा पुगेपछि आफ्नो जीवन नै असुरक्षित हुने हो कि भन्ने डरले रोल्पा पुगेका थिएनन्। यसौ भनौ कि, उनी जानी-जानी आफूलाई खतरामा धकेल्न चाहन्नथे।

ठाउँ पक्का नहुँदा एक महिनासम्म बैठकले पूर्णता पाउन सकेकाे थिएन। दिल्ली पक्का भएपछि कोइराला सीधै त्यतै लागे। त्यतिन्जेलसम्म माधव नेपालपनि नजरबन्धबाट मुक्त भइसकेका थिए। उनी पनि नजरबन्धबाट मुक्त भएलगत्तै दिल्लीतर्फ नै प्रस्थान गरे।

त्यतिबेला कोइरालाको दाहिने हात बनेर चक्र प्रसाद बास्तोला र कृष्ण प्रसाद सिटौलाले महत्वपूर्ण भूमिका निभाएका थिए।

प्रचण्डको लागि पनि रोल्पाबाट दाङ हुँदै दिल्लीसम्म पुग्नु कम्ती चुनौती र जोखिम थिएन। किनकि त्यतिबेला सीमा सुरक्षा आजजस्तो थिएन। यही कारणले पनि माओवादी नेताहरु निर्धारित समयमा दिल्ली पुग्न सकेनन्।

रोल्पाबाट हिँडेको ११ दिनपछि बल्ल प्रचण्ड, बाबुराम र महरा दिल्ली पुगे। अर्थात ०६२ कार्तिक २१ गते। सीमासम्म उनीहरुको सुरक्षाको जिम्मेवारी पाँचौ डिभिजन कमाण्डर किमबहादुर थापा ‘सुनिल’ले लिएका थिए।

वास्तवमा दिल्लीसम्म पुग्ने बाटाे सुरक्षित छ भन्ने प्रचण्डमा आशंक नै थियाे। उनी चाहन्थे कि कुनै घटना घटिहालेमा केही पस्ताेलहरु लुकाएर दिल्लीसम्मै पुर्याउने। तर बाबुरामले प्रचण्डलाई विश्वास गर्न आग्रह गर्दै उनकाे कम्मरकाे पेस्ताल थुते र सुनिललाई दिएर फर्कन भने।

त्यसकाे केही दिनपछि शाही सेनाको हवाइ आक्रमण परेर सुनिलले पनि ज्यान गुमाए।

प्रचण्डसहितका नेताहरु दिल्ली पुग्नुभन्दा लगभग १९ दिनअघि नै एमाले महासचिव माधव नेपाल त्यहाँ पुगिसकेका थिए। उनले माओवादी नेताहरुलाई करिब तीन साता कुरेर बसे।

लामो समयसम्म पनि प्रचण्ड नआएपछि नेता नेपाल काठमाडौं फर्किए। र, केपी ओलीलाई जहाजमा लिएर पुनः मंसिर १ गते दिल्ली पुगेका थिए।