मलेशियामा ईलिगल हुनुहुन्छ ? कसरी घर फर्कने ? के के चाहिन्छ कागजात?

जागृति खबर संवाददाता

काठमाडौं ।

मलेशिया सरकारले आफ्नो देशमा अवैध रुपमा बसिरहेका विदेशी नागरिकहरु माथि धरपकड गरिरहेको छ । पछिल्ला केहि दिनहरुमा मात्र ईन्डोनेशियन, म्यानामारी, बंगाली नेपाली गरि सयौं ईलिगल कामदारहरु पक्राउ परेकाछन् । मलेसियाको कानून अनुसार विदेशी कामदारले भिसामा उल्लेख भएअनुसारकै रोजगारदाता कम्पनीमा काम गर्नुपर्दछ। तर विभिन्न कारणले कम्पनी छोडेर कामदारहरु ईलिगल बन्दै आएका छन् ।

पछिल्लो समयमा मलेशियाँ प्रहरीले गैरकानुनी रुपामा मलेशियामा बसिरहेका आप्रबासी कामदार पक्रने अभियान सुरु गरेपछि धेरै नेपाली नागरिकहरु पनि पक्राउ परेका छन् । गत बुधबार मात्र मलेसियाको नेगेरी सेम्बिलानमा रहेको केरामिक कम्पनीमा छापा मार्दा ५५ जना गैरकानुनी रुपमा बसेका बिदेशी कामदारलाई पक्राउ गरिएको मलेसियाली अध्यागमन विभागले जनाएको छ ।

छापा मार्ने क्रममा कागजपत्र चेकजाँच गरेको तथा साथमा कुनै डकुमेन्ट नभएका ७ नेपाली, ४८ बङ्लादेशी र रोजगारदाता कम्पनीका मालिकलाई मलेसिया प्रहरीले पक्राउ गरेको हो । मलेसियाले गैरकानूनी कामदारहरुलाई स्वदेश फिर्तीको लागि सञ्चालनमा रहेको रिक्यालिब्रेसन कार्यक्रमको समयअवधि बढाएर यस वर्षको अन्त्यसम्म पुर्याएको छ ।

ईलिगलहरुले नेपाल फर्कन के गर्ने?
पासपोर्ट साथमा भएका नेपाली नागरिकहरुले स्वदेश फर्कनको लागी राहदानी र हवाई टिकट लिएर शिधई विमानस्थल जानसक्ने मलेशियामा रहेको नेपाली दुताबासले जनाएको छ । त्यस्तै पासपोर्ट पनि नभएका ईलिगलहरुले नेपाली दुताबासमा पुगेर नागरिकताको प्रतिलिपि, पुरानो पासपोर्टको प्रतिलिपि, पासपोर्ट साइजको दुई प्रति रंगिन फोटो र १६० मलेसियन रिंगेट दस्तुर तिरी ट्राभल डकुमेन्ट बनाएर पनि स्वदेश फर्किन सकिने दूतावासले जनाएको छ ।

पासपोर्ट वा ट्राभल डकुमेन्ट तयार भएपछी कोरोना रिपोर्ट नेगेटिभ भएको प्रमाणपत्र, कोरोना खोप नलगाएको भए नेपालमा होटल क्वारेनटाइन बुक गरेको पेपर र खोप लगाएको भए सोको प्रमाणपत्र बोकेर २४ घण्टा अघिनै विमानस्थल पुग्नु पर्नेछ । विमानस्थलको अध्यागमनमा पांच सय रिंगेट फाईन तिर्नुपर्ने हुन्छ । नगद कारोबार नहुने भएकोले अध्यागमनमा तिर्नुपर्ने फाईन क्रेडिट कार्ड, डेबिट कार्ड वा टच एन्ड गो कार्डबाट तिर्नु पर्नेछ । यि सबै प्रक्रिया पुरा गरेर नेपाल फर्कन सकिनेछ।

उज्यालो नेपाल बाट साभार