एमाले जस्तै पार्टी बनाउने हो भने माओवादी विघटन गरौं : प्रचण्ड

जागृति खबर संवाददाता

काठमाडौं, २३ भदौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारी धारमा नेता कार्यकर्ता रुपान्तरण नहुने हो भने पार्टीलाई विघटन गर्नुपर्ने बताएका छन्।

बुधबार नेताहरु सुरेश वाग्ले र भीमसेन पोखरेलको स्मृतिमा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्ति, रुपान्तरण, परिवर्तनका लागि समर्पित भएका हिँडेका नेता कार्यकर्ता व्यक्ति केन्द्रीत, स्वार्थ, गुट र पैसाको पछाडि लागेको भन्दै त्यस्तो भए पार्टीको औचित्य नभएको बताए।

उनले एमाले पछिल्लो समय विचार शून्य भएको भन्दै माओवादी केन्द्रपनि त्यस्तै हुँदै गएको टिप्पणी गरे।‘क्रान्तिको निम्ति समर्पण भएर हिँडेको मानिस एमाले जस्तै भयौं भने यो पार्टीलाई विघटन गरिदिए हुन्छ’ प्रचण्डले भने,‘ पद,पैसा, गुटलाई प्रश्रय दिएर एमाले जस्तै हुने हो भने यसलाई विघटन गरिदिनु इमान्दारिता हुन्छ। जनतालाई धोका दिनु भन्दा।’

प्रचण्डले माओवादी केन्द्रको विरासत अन्य पार्टी जस्तो नभएको बताए।

‘हाम्रो विरासत अन्य पार्टीको जस्तो होइन। हामी भिन्न संस्कारबाट आएका हौं’ प्रचण्डले भने, ‘हामी बिग्रेका छौं। जतिबेला हजारौं शहिदहरु भए त्यतिबेलाको जस्तो हामी छैनौं।’

पछिल्लो समय नेता कार्यकर्ता व्यक्तिगत स्वार्थमा लागेको, गुट बनाउने र आफूलाई व्यक्तिगत रुपमा जतिबेला पनि सत्ता र शक्तिमा राख्न खोजेको प्रचण्डको भनाइ थियो।

‘जसरी एमाले भन्ने पार्टी विचार शून्य छ, त्यहाँ विचार शून्यता छ, हामी त्यस्तै बनेका छौं’ उनले भने।

नेकपा एमाले पार्टीमा विचार शून्य भएपनि चुनाव जित्नका लागी चाहिने प्राविधिक पाटो जानेको र सूर्य चुनाव चिह्न भएको उनले बताए।

‘उनीहरुले गुट बलियो बनाउने भन्ने जानेका छन्। चुनाव जित्न चाहिने साम, दाम–दण्ड अलि बढी जानेका छन्। अलि बढी लोगो छ। सूर्य भए पुग्छ। सूर्य भित्र के भइरहेको छ, भन्ने छैन। अनि मदन भण्डारी। भण्डारीका हत्याका बारेमा खोजी हुँदैन। आफूलाई उत्तराधिकारी भएकाहरुनै अध्यक्ष र राष्ट्रपति छन् तर केही गरेनन्।’

मदन भण्डारीको लागोलाई प्रयोग गरेर पद प्राप्तिका लागि एमालेहरु लागेको उनको भनाइ थियो। आफूहरुले एमालेभित्र रहेका राम्रा कम्युनिस्टलाई बदल्न सकिन्छ कि भनेर प्रयास गरेको भएपनि नसकिएको प्रचण्डको भनाइ थियो।

‘हामी पनि एमाले जस्तै हुने हो भने यो पार्टी किन चाहियो?’ उनले प्रश्न गरे। उनले पैसा कमाउने, गुट बनाउने, साँठगाठ गर्ने भए एमालेमा जान सुझाव दिए। आफ्ना केही साथीहरु त्यही भएर एमालेमा गएको उनको टिप्पणी थियो।

‘सबै गए भयो नि त एमालेमा। गुट बनाउने, पैसा कमाउने, साँठगाठ गर्ने हो भने एमाले हुँदा नै राम्रो नि। उनीहरुको नेटवर्क मिलेको छ। हामी उनीहरुसँग प्रतिस्पर्धा गर्न सक्दैनौं’ उनले भने, ‘हामी कांग्रेस एमाले भन्दा धेरै कमजोर पर्छौ। हामीले सक्ने भनेको क्रान्ति र रुपान्तरण हो।’

उनले क्रान्ति र रुपान्तरण सामान्य ढंगमा नहुने भन्दै गम्भीर बन्न आग्रह गरे। ‘कमरेडहरु विचार गर्नु होला। हाम्रो रुपमान्तरण सामान्य वलले नहुने भयो। हामीले बल धेरै गर्नु पर्‍यो भन्न खोजेको हो’ प्रचण्डले भने।