अमेरिकासँग चिठ्ठी आदानप्रदानसहित एमसीसी कार्यान्वयन गरौँ : डा. भट्टराई

जागृति खबर संवाददाता

काठमाडौं, २१ भदौं ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी कार्यान्वयन गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सहमति कायम गरेर अमेरिकासँग चिठ्ठी आदानप्रदानसहित एमसीसी कार्यान्वयन गर्नुपर्ने उनको तर्क रहेको छ । एमसीसीको विषय राष्ट्रिय बहस बनिरहेको बेला भट्टराईको यस्तो भनाइ आएको हो ।

उनले लेखेका छन्, यसमा राष्ट्रिय सहमति गरौँ : १. उच्चस्तरीय राजनीतिक/कूटनीतिक वार्तामार्फत भारतसँगका सबै विवाद हल गरी असल छिमेकी बनौँ; २. चीनसँगका BRI, पारवहनलगायत सम्झौता कार्यान्वयन गरौँ; ३.अमेरिकासँग चिठी आदानप्रदान सहित MCC कार्यान्वयन गरौँ ! युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्नेछ भन्ने बुझौँ !

प्रचण्डले पास हुन दिएनन्, एमाले एमसीसी पास गर्ने पक्षमा छ : विष्णु रिमाल

नेकपा एमालेका नेता विष्णु रिमालले विवादित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) आँखा चिम्लेर पास गरे हुने बताएका छन्। नेता रिमालले नेकपा एमाले एमसीसीको विरुद्धमा नरहेको पनि बताए।

एक टेलिभिजन अन्तर्वार्तामा उनले भनेका छन्, ‘यसमा धेरै बहस गर्न आवश्यक छैन। एमसीसी आँखा चिम्लेर पास गरे हुन्छ। यसमा केही संशोधन गर्न आवश्यक छैन वाहिगत कुरा हो। यसमा टिप्पणी गर्नु, एमसीसी जस्तो सम्झौता धेरै गरेका छौं। हामीले चीनसँग पनि त्यस्तै गरेका छौं भारतसँग पनि त्यस्तै गरेका छौं।

अनि ओली जी को छवि रहँदैन भन्छन् नि ? भन्ने प्रश्नमा रिमाल भन्छन्, ‘यसमा के छवि ? यसमा के राष्ट्रवाद र राष्ट्रघातको कुरा छ भनेको एमसीसीमा ? तपाई कै मिडियामा आएर बोल्नेले के भन्या छन् भने, एमसीसी मार्फत अमेरिकन सेना आउँछ, यस्ता वाहिगत कुराको पछि लागेर समय बर्बाद गर्न मिल्छ तपाई हामीले ? बिजुलीको तारबाट झुन्डिएर सेना आउँछ ? नचाहिँदो कुरा हो यो।’

ए अब एमसीसी पास गरिन्छ/पास गर्ने ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘त्यो संसद्को कुरो हो। हाम्रो एमाले पार्टी एमसीसीको विरुद्धमा छैन। किनभने ४,५ वटा सरकार ढाल्यो, एन्टि केपी ओली भएर एमसीसीको विरोध गर्दा झलनाथ खनाल, भीम रावलहरू फसेको पनि दाबी गरेका छन्।’ उनले यो अभिव्यक्ति केपी शर्मा ओलीको कार्यकालमा प्रधानमन्त्रीको मुख्य सल्लाकार हुँदा वैशाख १५ गते दिएका हुन। उनले दिएको यो अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।