सुदूरपश्चिममा ओलीको एमालेभन्दा ठूलो बन्यो नेपालको एकीकृत समाजवादी पार्टी

जागृति खबर संवाददाता

काठमाडौं, २० भदौं ।

सुदूरपश्चिममा थप तीन जना एमाले सांसदहरूले नेकपा (एकीकृत समाजवादी) का पक्षमा सनाखत गरेका छन्। आइतबार सांसदहरू दीर्घ सोडारी, तारा लामा तामाङ र प्रकाश रावल धनगढीस्थित निर्वाचन आयोग कार्यालयमा गएर सनाखत गरेका हुन्।

उनीहरूले सनाखत गरेसँगै प्रदेश सभा एकीकृत समाजवादीका सांसद १३ जना पुगेका छन्। ५३ सदस्यीय प्रदेश सभा एमालेका सभामुखसहित २५ सांसद थिए। १३ सांसद एकीकृत समाजवादीमा गएपछि उक्त पार्टी एमालेभन्दा ठूलो बनेको छ।

यसअघि प्रदेश सभा सदस्यहरू पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी, अम्मर साउँद, मना साउँद, चुनकुमारी चौधरी, कुलबिर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्टले एमाले छोडेर एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका थिए।

एमालेमा विवाद हुँदा सुदूरपश्चिम प्रदेश सभामा २५ मध्ये १७ सांसद वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा उभिएका थिए। सुदूरपश्चिमको एमाले राजनीतिमा बलियो प्रभाव रहेका उपाध्यक्ष भीम रावल पनि त्यतिबेला नेपाल समूहमै थिए। पछिल्लो समय रावल नेपालको साथ छोडेर एमालेमै रहेका छन्। सुदूरपश्चिममा भने उनले चार जना सांसदबाहेकलाई नेपाल नेतृत्वको नयाँ पार्टीमा जानबाट रोक्न सकेका छैनन्।

उता प्रदेश-२ मा नेकपा एमालेका थप दुई जना प्रदेश सभा सदस्यले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका छन्। एमाले संसदीय दलका प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले आइतबार जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर सनाखत गरेका हुन्। गत बिहीबार एमालेका ११ जना सांसदसँगै उनीहरूलेले सनाखत एकीकृत समाजवादीका पक्षमा सनाखत गर्ने बताइए पनि अन्तिम समयमा उनीहरू फेरि एमालेका कार्यक्रममा सहभागी भएका थिए।

मौसम खराब भएको कारण देखाउँदै मंगलबार एकीकृत समाजवादीमा सनाखत गर्न नआएका उनीहरू दुबै जना वीरगञ्जस्थित एमालेले आयोजना गरेको प्रदेश कमिटी बैठकमा सहभागी भएका थिए।

यसअघि एमालेमा रहँदासमेत पटक-पटक दुबैजना सांसदले कित्ता परिवर्तन गर्दै आएका थिए। एमालेबाट निर्वाचित २१ जना प्रदेश सभा सदस्यमध्ये १३ जनाले एकीकृत समाजवादी रोजेका छन् भने ८ जना एमालेमै रहने भएका छन्।

शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, डिल्ली उप्रेती, प्रमोद यादव, अशोक यादव, मदनसेन श्रीवास्तव, मन्जु यादव, बेची लुंगेली, रवीन्द्र बैठा, हसिमा खातुन, नागेन्द्र यादव सुन्दर विश्वकर्मा, सीता गुरुङ एकीकृत समाजवादी रोजेका हुन्।

त्यस्तै जसरी पनि बहुमत जुटाउने भन्दै प्रदेश १ को मुख्यमन्त्री बनेका भीम आचार्यलाई उनकै वडाका जनप्रतिनिधि र नगरका नेताहरूले साथ छाडेका छन्। एमालेका १० सांसदले एकीकृत समाजवादी रोजेपछि संसदमा अल्पमतमा परेका आचार्यलाई गृहनगर इनरुवामा पनि धक्का लागेको छ। सञ्चारकेन्द्र बाट