यो सरकारले एमसीसी झुक्याएर पास गर्न खोजेको होला : ओली

जागृति खबर संवाददाता

काठमाडौं, १९ भाद्र ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग एमसीसी झुक्याएर पास गर्न खोजेको आरोप लगाएका छन् ।

काठमाडौं महानगर स्तरीय कार्यकर्ता भेलामा अध्यक्ष ओलीले काँग्रेस र माओवादीकै सरकारको पालामा एमसीसी सम्झौतामा हस्ताक्षर गरेको तर उनीहरु नबोलेको भन्दै आपत्ति जनाएका हुन् ।

‘काँग्रेस र एमाले हुँदा एमसीसी गरेका हुन्, अहिले यिनीहरु बोल्दैनन्, झुक्याएर पास गर्न खोजेका होलान्, एमसीसी के गर्ने भनेर शेरबहादुर देउवा जीले भन्नुपर्दैन ?, प्रचण्डले बोल्नुपर्दैन एमसीसी के गर्ने ?’ ओलीले प्रश्न सोधे ।

प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमसीसीबारे बोल्नुपर्ने ओलीले बताए ।

‘जनताका अगाडि यिनीहरूले गरेको एमसीसी के गर्ने हो भन्नु पर्दैन ? शेरबहादुर देउवाजीले भन्नु पर्दैन एमसीसी के गर्ने ? अनि प्रचण्डजीले बोल्नुपर्दैन एमसीसी के गर्ने ?,’ उनले थपे, ‘हिजो साइन गर्नुभएको थियो त !’

एमसीसीबारे देउवा र दाहाल चुपचाप रहेको ओलीले बताए । ‘यस्ता अनगिन्ती कुराहरू उहाँहरूले गोप्य राखेर, नेपाली जनतालाई छक्याएर विकास निर्माण विकासको गतिलाई रोकेर’ राखेको ‌ओलीको आरोप थियो ।

बिहानसम्म अस्वस्थ रहेका ओली स्वास्थ्यमा सुधार आएपछि कार्यक्रमलाई सम्बोधन गर्न सभा गृह गएका हुन् ।

‘एमसीसी’का विवादित बुँदा स्पष्ट पार्न सरकारद्वारा अमेरिकालाई पत्राचार

सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतामा उठिरहेका विवादित विषयहरुबारे स्पष्ट पार्न अमेरिकालाई पत्राचार गरेको छ । अर्थ मन्त्रालयले शुक्रबार नेपालस्थित अमेरिकी राजदूतावासमार्फत एमसीसी मुख्यालयलाई पत्राचार गरेको हो ।

अर्थ मन्त्रालयका एक उच्च अधिकारीकाअनुसार एससीसीका विषयमा नेपालमा विभिन्न पक्षबाट उठाइएका विषयहरुलाई उतैबाट स्पष्ट पार्न पत्र पठाइएको हो ।

पत्रमा एमसीसी अमेरिकाले अघि सारेको ‘इन्डो–प्यासिफिक रणनीति’ अन्तर्गत पर्छ कि पर्दैन, एमसीसी अन्तर्गत नेपालमा सुरक्षा प्रभाव हुन्छ कि हुँदैन, परियोजनाको लेखापरीक्षण नेपालबाट कि अमेरिकाबाट हुने, नेपालको संविधान र कानुनभन्दा माथि यो सम्झौता रहने कि नरहने भन्ने कुरा स्पष्ट पारिदिन अनुरोध गरिएको छ ।