१९ वर्षकै उमेरमा कांग्रेस वडा सभापति भएकी स्वस्तिका को हुन् ?

जागृति खबर संवाददाता

काठमाडौं, १९ भाद्र ।

दैलेखमा १९ वर्षीया किशोरी नेपाली कांग्रेसको वडा सभापतिमा निर्वाचित भएकी छन् । दैलेखस्थित कांग्रेसका नेता स्वर्गीय भुपेन्द्र महतकी छोरीसमेत रहेकी १९ वर्षीया स्वस्तिका महत दुल्लु नगरपालिका वडा नम्बर ३ मा सभापति निर्वाचित भएकी हुन् । शुक्रबार भएको वडा अधिवेशनका क्रममा कांग्रेसले उनलाई सर्वसम्मत रुपमा वडा सभापति बनाएको हो । उनलाई सभापति बनाउन अन्य दाबेदारले पनि साथ दिएका थिए ।

सानै उमेरमा कांग्रेसको स्थानीय नेतृत्व सम्हालेपछि उनलाई आफन्त, इष्ट मित्र र कांग्रेसजनले बधाई दिइरहेका छन् । कांग्रेसले पछिल्लो समय युवाहरुलाई नेतृत्वमा ल्याउने प्रयास गरिरहेको छ। नेतृत्वमा पाका नेताहरु भए पनि तल्लो तहमा विस्तारै युवाहरुको जमात बढिरहेको छ ।

दुल्लु नगरपालिका प्रमुख एवम् कांग्रेस नेता भुपेन्द्र भण्डारीले युवाहरुलाई नेतृत्वमा ल्याउने पार्टीको नीति अनुसार नै स्वस्तिकालाई वडा सभापति बनाइएको बताएका छन् । स्वस्तिकाका पिता एवम् कांग्रेस दैलेखका तत्कालीन उपसभापति भुपेन्द्रजंग महतको २०७६ कात्तिकमा डेंगु संक्रमणका कारण निधन भएको थियो ।

डेंगु भएपछि उनी उपचारका लागि भारतको दिल्लीस्थित एपोलो अस्पताल पुगेका थिए । भारतको मुम्बई भ्रमणका क्रममा बिरामी परेपछि दिल्लीमा उपचारका क्रममा उनको निधन भएको थियो । स्वस्तिका पनि बुवाकै पदचाप पछ्याउँदै कांग्रेसको राजनीति लागेकी छन्। उनलाई सानै उमेरमा कांग्रेसले गाउँको कमाण्ड सुम्पिएपछि अन्य दलका नेताले पनि प्रशंसा गरेका छन् । भण्डारीका अनुसार महत ‘एचए’ को पढाइ पूरा गरेर बसेकी हुन्। महतको पारिवारिक पृष्ठभूमि कांग्रेस नै हो।

सभापति भएपछि स्वस्तिकाले प्रतिक्रिया दिएकी छिन् । उनले आफ्नो स्वर्गीय बुवाको सपना पुरा गर्न राजनीतिमा आएको बताएकी छन् । मेरा बुवाले दैलेखमा राजनीति गरेर समाज परिवर्तन गर्ने सपना देख्नुभएको थियो । उहाँको सपना पुरा गर्न म राजनीतिमा होमिएकी हुँ उनले भनिन् ।

उनले आफू राजनितीमा आउनुमा कुनै सर्त वा लाभका लागि नभई नेपाली कांग्रेसको विरासतअनुसार आफ्ना वडावासीको सपना पुरा गर्नका लागि आएको बताएकी छिन् । राजनीति नै सबै नीतिको मूल नीति हो भनेर मेरो बाबाले मलाई भन्नुभएको थियो । त्यहि अनुसार राजनीतिक यात्रा गरेर मात्रै म गाँउको सेवा गर्न सक्छु भनेर यहाँ लागेकी हुँ स्वस्तिकाले भनिन् ।