एमालेको दोश्रो पुस्ता ओलीका दास हुन्, सत्य बोल्नै डराउँछन्ः चक्रपाणी खनाल

जागृति खबर संवाददाता

काठमाडौं, १९ भाद्र ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य एंव लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनालले नेकपा विभाजन अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको स्वार्थमा भएको बताउनुभएको छ ।

कम्युनिष्ट पार्टीहरु एक हुनुपर्ने आवश्यक्ता र चाहना देश, जनता र कार्यकर्ताहरुमा रहदा रहदै पनि अदालतको सेटिङबाट पार्टी विभाजन हुन पुगेको उहाँले जिकिर गर्नुभयो ।

ओलीको तानाशाही बिचमा पनि क्रान्तिकारी धारले सशक्त प्रतिकार गर्दै पार्टी फुटबाट रोक्दै आएको तर ओली स्वयंको चाहना र विदेशी शक्तिको स्वार्थ मिलेकै कारण अदालतबाटै पार्टी फुटाइएको बलदेवले दाबी गर्नुभयो ।

प्रेस संगठन नेपाल कपिलवस्तु जिल्ला भेलालाई सम्बोधन गर्दै प्रदेश इन्चार्ज बलदेवले पार्टी विभाजन पछि माओवादी केन्द्र थप शक्तिशाली बनेको र केही अवसरवादी र पार्टी ध्वस्त पार्ने धमिराहरु उतै टासिएको टिप्पणी गर्नुभयो ।

उहाँले संविधानमा उल्लेख गरिएको समाजवाद तर्फ माओवादीले कांग्रेस, जसपा, नेकपा (एस) लगायतलाई डोरयाएर लाने समेत ठोकुवा गर्नुभयो । बलदेवले केपी ओली प्रतिगमनको मतियार भएकै कारण एमाले विभाजनको चरणमा पुगेको बताउदै आज ओली नेतृत्वको एमाले दासहरुको जमात भएको आरोप लगाउनुभयो ।

“नेकपा एक हुँदा र फुटदा र अहिले फेरी पनि एमाले फुट्दा जुन दोश्रो पुस्ता भनिएका छन ति सबै ओलीका दास हुन्” उहाँले भन्नुभयो । अलिकति पनि विरोध गर्ने, प्रतिकार गर्ने र गलतलाई गलत भन्ने सम्म आट छैन, सत्य बोल्न डराउने दोश्रो पुस्ताको तानाशाही ओली प्रवृत्तीका पुच्छर भएरै माखा धपाउने बाहेकको काम नहुने नेता बलदेवको टिप्पणी छ ।

फरक प्रसंगमा बोल्दै प्रतिनिधिसभा सदस्य समेत रहनुभएका सांसद खनालले प्रेस संगठनका पत्रकारहरुले पार्टीका नेतृत्वमा बढदै गरेको गलत प्रवृत्तीको खुलेर विरोध गर्न आग्रह गर्नुभएको छ । “आखाँ चिम्लेर सर्मथन गर्नु आवश्यक छैन, गलत छ लेखिदिने, सुधारको लागि औल्याउने बल्ल पार्टी ठिक ढंगबाट हिड्छ” उहाँले भन्नुभयो ।