भीम, योगेश, घनश्यामसहित १० नेताले गरे निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता ?

जागृति खबर संवाददाता

काठमाडौं, १९ भाद्र ।

नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाक्रीले एमालेमा विगतमा एकताको पक्षमा देखिएका नेताहरूले आफ्नो पहलमा केही महिनाअघि नै अलग पार्टी दर्ता गराइसकेको खुलासा गरेकी छिन् । एक अन्तर्वार्तामा उनले यस्तो खुलासा गरेकी हुन् । चैत्र, बैशाख, जेठमै उनीहरुले पार्टी दर्ता गरेको झाक्रीको दाबी छ ।

उनले एमाले उपाध्यक्ष भीम रावलले विगतमा ३२ जना सांसदलाई राजिनामा दिन लगाएर राजनीति नै धरापमा पार्ने योजनाका साथ लागिपरेको बताएकी छिन् । ‘एकताको नाममा उहाँहरु (भीम रावल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट लगायत)ले आफ्नो सेटलमेन्ट गर्नुभयो’ झाक्रीले भनिन् । उनले नाम नतोकेर एकताको नाममा रहेका नेताहरु भन्दै भीम रावल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्टलाई संकेत गरेकी छिन् ।

केही दिनअघि एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले पनि एमालेका दोस्रो पुस्ताका नेताहरुले निर्वाचन आयोगमा पार्टी दर्ता गराएको खुलासा गरेका थिए ।

उनले नेपाल कम्युनिष्ट पार्टी एकीकृत र चुनाव चिह्न कलम भएको पार्टी दर्ता गराएको बताएका हुन् । अर्को नेपाल कम्युनिष्ट पार्टी लोकतान्त्रिक पनि निर्वाचन आयोगमा दर्तामा रहेको बताए । त्यो पनि दोस्रो तहका नेताहरुकै अगुवाइमा दर्ता भएको खुलासा गरेका हुन् ।