विद्युत प्राधिकरणले माग्यो झन्डै साढे ३ सय नयाँ कर्मचारी

जागृति खबर संवाददाता

काठमाडौं, १९ भाद्र ।

नेपाल विद्युत प्राधिकरणले झन्डै साढे तीन सय जना नयाँ कर्मचारीका लागि विज्ञापन खोलेको छ। शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै प्राधिकरणले विभिन्न कार्यालयका विभिन्न पदका लागि ३ सय ३९ जना कर्मचारी मागेको हो।

अधिकृत र सहायकस्तरमा सह-निर्देशकदेखि जुनियर मिस्त्रीसम्मका लागि खुला तथा समावेशी कोटामा विज्ञापन खोलिएको हो। लिखित र अन्तर्वार्ताका माध्यमबाट परीक्षा हुनेछ।

इच्छुक उम्मेद्वार असोज ७ गतेसम्म र दोब्बर शुल्क तिरेर १४ गतेसम्म आवेदन दिन सक्ने प्राधिकरणले जनाएको छ।

जेल बसेको ३० महिनापछि निर्दोष ठहरिए सेनाका दुई जवान

हतियार चोरी प्रकरणमा दोषी ठहरिएर जेल बसेको नेपाली सेनाका दुई जना जवान ३० महिनापछि निर्दोष ठहरिएका छन्।

उनीहरू सैनिक विशेष अदालतबाट शुक्रबारको फैसलामा निर्दोष ठहरिएका हुन्।

सेनाले हतियार चोरीको मुख्य योजनाकार भनेर अमल्दार पोष्टमा कार्यरत लवकुमार गुरूङ र सरोज तामाङलाई कोर्ट मार्सल गरेको थियो।

सेनाकै गंगाधर ढकालले सहकर्मी भरत गुरूङको साउन ७ गते चितवनमा हत्या गरेपछि चोरी भएको हतियारबारे रहस्य बाहिरिएको थियो।

लव र सरोजले चोरी गरेको भनिएको र भरतको हत्यामा प्रयोग भएको हतियार (१००७९२ र वट नं ख २५) एउटै भएपछि घटनाले नयाँ मोड लिएको थियो। हत्याको आरोप लागेका गंगाधरविरूद्ध बिहीबारको फैसलाले २५ वर्ष कैद तोकेको छ।

लव र सरोज भरतपुर कारागारमा रहेका थिए। सेनाको कालिबहादुर गणको आग्रहपछि दुवै जनालाई कारागारले सेनालाई बुझाएको थियो।

निर्दोष ठहरिएसँगै उनीहरूको जागिर पुनर्बहाली हुने भएको छ। तर ड्युटीको समयमा अन्य साथीलाई ड्युटी छाडेर आफूहरू दोहोरी साँझ गएको आरोपमा बढुवा भने ३ वर्षका लागि रोकिएको छ।

०७५ साल पुस ४ गते हतियार चोरेको आरोप लव र सरोजमाथि थियो। त्यतिखेर समरी अदालतबाट उनी ०७५ चैत २८ गते कारागार चलान भएका थिए। लवकुमार १० र सरोज ७ वर्षका लागि जेल सजाय तोकिएको थियो। चोरी गरिएको हतियार बेचेको आरोमा दुई जना सर्वसाधारण तारा तामाङ र पवन गुरूङले भने सफाइ पाएका थिए।