बागमती प्रदेशसभा सदस्य ज्ञवाली नेकपा समाजवादीमा

जागृति खबर संवाददाता

काठमाडौं, १८ भाद्र ।

बागमती प्रदेशसभाका थप एक सदस्य माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा खुलेका छन् ।
प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख लुम्बनाथ पोखरेलका अनुसार प्रदेशसभा सदस्य मीना ज्ञवाली नेपालले समाजवादीको पक्षमा सनाखत गरेकी हुन् ।

यससँगै नेकपा समाजवादीमा सनाखत गर्ने प्रदेशसभा सदस्यहरुको संख्या १३ जना पुगेको छ ।

तत्कालिन नेकपा एमालेको माधव नेपाल समूहमा रहेकी सांसद् ज्ञवाली गत भदौ २ गतेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारको पक्षमा देखिएकी थिइन् ।

२२ गतेसम्ममा थप सांसदले आफूहरुको पक्षमा सनाखत गर्ने नेता बसन्त मानन्धरले दावी गरे ।

२५ वर्षपछि बामदेव गौतमले पुनः छाडे एमाले

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । गौतमले आज साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजीनामा दिएकाे स्वकीय सचिव दीपक टमाटाले दृष्टि न्युजलाई जानकारी दिए ।

गौतमले एमालेको सबै पदबाट राजीनामा दिएको पत्र उनका स्वकीय सचिवमार्फत कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएका हुन् ।

नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका गौतम नेकपा एकीकरणपछि पनि उपाध्यक्ष बनेका थिए । उनी नेकपा विभाजनपछि दुवै पक्षमा नलागी एकता अभियान चलाइरहेका थिए ।

२०५४ सालमा एमाले विभाजन गरेर नेकपा माले गठन गरेका गौतमले २५ वर्षपछि पुनः एमाले छाडेका छन् ।