प्रचण्डलाई भेटेपछि मन्त्रिपरिषद बिस्तारबारे माधव नेपालले गरे यस्तो बेग्लै खुलासा, देउवा तनावमा

जागृति खबर संवाददाता

काठमाडौं, १७ भाद्र ।

नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपालले भदौ २३ गतेअघि मन्त्रिपरिषद विस्तार महुने खुलासा गरेका छन्। अध्यक्ष नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट भए पनि त्यसबारे छलफल नभएको पनि बताए।

बिहीबार बिहान अध्यक्ष नेपालले प्रचण्डसँग भेट गरेका थिए। सिंहदबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्ने क्रममा उनले सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा २२/२३ गतेसम्म त मन्त्रिपरिषद विस्तारका बारेमा कसैले चुइँक्क पनि नबोल्ने बताए।

सत्तारूढ दल भित्रको विवादका कारण मन्त्रिपरिषदले पूर्णता पाउन नसकेको चर्चा भइरहँदा अध्यक्ष नेताले मन्त्रिपरिषद विस्तारका विषयमा उपयुक्त समयमा मात्रै सत्तारुढ दलहरुबीच छलफल हुने प्रतिक्रिया समेत दिए।

‘मन्त्रिपरिषद विस्तारका विषयमा २२/२३ गतेसम्म त कसैले पनि चुइँक्क बोल्दैन। त्यस बारेमा अहिले केही चर्चा हुँदैछ। हामी त्यसका लागि पनि उपयुक्त समयमा छलफल गर्नेछौं,’ नेपालले भने।
अध्यक्ष नेपालले केपी ओलीको भ्रममा नपर्न पनि पार्टीका प्रदेश सभाका सांसदसहितका जनप्रतिनिधिहरूलाई आह्वान गरे। केपी ओली र उनका मान्छेले दश बुँदे सहमतिको भ्रमपूर्ण व्याख्या गरिरहेको उल्लेख गर्दै उनले त्यसको भ्रममा नपरी आफ्नो पार्टीमा आउन पनि एमालेका नेता, कार्यकर्तालाई आग्रह गरे।

अध्यक्ष नेपालले आफ्नो पार्टीले माओवादी केन्द्रसँग एकता नगर्ने पनि दोहोर्‍याए। उनले क्रान्तिकारी विचारको आधारमा निर्माण भएको आफ्नो पार्टी माओवादी केन्द्रसँग विलिन हुने भ्रम नछर्न पनि सचेत गराए। ‘हाम्रो पार्टी माओवादी केन्द्रमा मिल्छ वा विलिन हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गर्न चाहन्छु। हाम्रो पार्टी क्रान्तिकारी विचारको आधारमा निर्माण भएको छ । यो केपी ओलीको निरंकुशताविरुद्ध विद्रोह गरेर बनेको पार्टी हो,’ नेपालले भने।

अध्यक्ष नेपालले आफ्नो पार्टीविरुद्ध केपी ओलीले कुप्रचार गरिरहेको उल्लेख गर्दै त्यसलाई चिरेर अघि बढन सफल हुने दावी समेत गरे। यसैबीच, नेकपा (एकीकृत समाजवादी) पार्टीको राष्ट्रिय सभा संसदीय दलका नेता बेदुराम भुसालले पनि बिहीबार नै सिंहदरबारस्थित दलको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका छन्।

यसैबीच उता नेपाल समूहमा रहेका नेता भीम रावलले पार्टी टुक्राउन असहमत भएर एमालेमै रहने निर्णय गरेपछि उनी निकटका जिल्ला तहका नेता तथा सांसदहरू समाजवादीमा खुलेका छन्। निर्वाचन आयोगले दिएको समय सीमाअगावै नेताहरू जिल्लामा खुल्ने क्रम जारी छ।

रावललाई सुरूदेखिनै साथ दिँदै आएका जिल्लादेखि प्रदेश तहका अधिकांश नेता माधव नेपाल पक्षमा उभिएपछि जिल्लामै रावल कमजोर देखिएका छन्। २ निर्वाचन क्षेत्र रहेको अछाममा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद शेरबहादुर कुँवरले समाजवादी रोजेका छन्। क्षेत्र नम्बर २ बाट रावलले जितेका हुन्।

एमाले जिल्ला अध्यक्ष तथा राष्ट्रियसभा सदस्य रहिसकेका कुँवरले माधव नेपाललाई पहिलेदेखि नै साथ दिएका थिए। रावलनिकट मानिएका उनको क्षेत्रका कुँवर पार्टी टुक्रिएसँगै माधव नेपालतिर लागेका हुन् ।

प्रदेश सदस्य शंकर भण्डारी पनि समाजवादीमा लागेका छन् । अछाम क्षेत्र नं. २ का प्रभावशाली नेता भण्डारीले रावललाई छोड्दै माधव नेपाललाई साथ दिएका छन्। प्रदेश सभा तर्फ निर्वाचन क्षेत्र नम्बर १ क मा जितेका हर्कबहादुर कुँवर एमालेमै छन्। ख मा माओवादीबाट जितेका झपट बोहोरा एमाले प्रवेश गरेपछि उनको पद रिक्त छ।

निर्वाचन क्षेत्र नम्बर २ क बाट निर्वाचित बलबहादुर सोडारीले समाजवादी रोज्दा ख बाट जितेका अक्कल रावल एमालेमै छन्। अछामबाट समानुपातिक सांसद दुर्गाकुमारी कामी र मना साउदले पनि समाजवादीमा सनाखत गरेका छन्। यसअघि गृह जिल्लाका नेता रावललाई साथ दिँदै आएकी कामीले नेता रावल नेकपा एमालेमै रहेपछि उनको साथ छाडेकी हुन्।

‘सुरूमा आफ्नै पार्टी अध्यक्ष केपी ओली र उनको सरकारलाई प्रतिगमन भनेर रावलले विरोध गर्न लगाए। मान्यौं, समानान्तर कमिटी बनाउने भने मान्यौं र कनम रावलले नेतृत्वमा समामान्तर कमिटी बनायौं। जनस्तरमा पनि ओलीविरूद्ध उत्रन रावलले नै आव्हान गरे। आज आएर आफू सुटुक्क ओलीतिरै गएपछि हामीले उहाँको साथ छोडेका हौं’, कामीले भनिन्।

नेकपा एमाले अछाम जिल्ला तहका अधिकांश नेता समाजवादी पक्षमा छन् । एमाले अछामका अधिकांश जिल्ला कमिटी सदस्य तथा जनवर्गीय संगठनका प्रमुखहरू पनि समाजवादीमै छन् । सुदूरपश्चिम प्रदेश सभाका १० जना नेकपा (एमाले) सांसदले नेकपा (एकीकृत समाजवादी) का पक्षमा सनाखत गरेका छन्।

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गर्नेमा पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी, अम्मर साउँद, चुनकुमारी चौधरी, मना साउँद, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट छन्।

भौतिक पूर्वाधार तथा विकास मन्त्री तथा प्रदेश सभा सदस्य दीर्घ सोडारीले आफूसहित तीन जना सांसदले बुधबार आयोगमा गएर सनाखत गर्ने बताए। उनीसहित अर्चना गहतराज र तारा लामा तामाङले सनाखत गर्न बाँकी छ। ५२ सदस्यीय सुदूरपश्चिमको प्रदेश सभा एमालेका २५ सांसद थिए। तीमध्ये यसअघि १८ सांसद नेपाल पक्षमा भएको बताइएको थियो।

सुदूरपश्चिमको एमालेमा उपाध्यक्ष भीम रावलको बलियो प्रभाव थियो। २०७४ को निर्वाचनमा उनले आफूनिकट धेरैलाई टिकट दिएका थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेता माधव नेपालको टकराव हुँदा रावल नेपालसँगै थिए। तर पछिल्लो समय उनी नेपालको साथ छोडेर एमालेमै बसेका छन्। सञ्चारकेन्द्र बाट साभार