यि हुन पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई मिर्गौला दिने महिला

जागृति खबर संवाददाता

काठमाडौं, १७ भाद्र ।

पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई मृगौला दान गर्ने महिला हुन् मेरिना चित्रकार। इन्द्रजात्राका अवसरमा कुमारीको रथमा परम्परागत चित्र बनाइरहेकी यिनै महिलाले पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई मृगौलादान दिएकी हुन्।

केही दिनअघि उनको नयाँ दिल्लीमा मृगौला प्रत्यारोपण गरिएको थियो। उनी काठमाडौंको भीमशेन स्थानका स्थानीय हुन्। उनी पूर्व प्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रबि चित्रकारकी दिदीकी छोरी हुन्। उनैले झलनाथ खनाललाई मृगौला दान गरेकी हुन्। दुवै मिर्गौला फेल भएर गम्भीर स्वास्थ्य समस्या देखिएपछि खनाल केही समययता भारतमा उपचाररत थिए ।

दिल्लीको एपोलो अस्पतालमा उपचार गराउँदै पूर्वप्रधानमन्त्री झलनाथ खनाल ।

मृगौलादाता चित्रकार ख्याती प्राप्त चित्रकार माणिकमान चित्रकारकी नातिनी तथा अमिरमान चित्रकारकी छोरी हुन्। ती दुबै जनाले नेपालमा कला क्षेत्रमा महत्वपूर्ण योगदान गरेका थिए।

हरेक वर्ष इन्द्रजात्रा सुरु हुनुअघि उनकै परिवारले कुमारी रथमा परम्परागत चित्र बनाउने गर्छ। यी फोटोहरु २ वर्षअघि मेरिना चित्रकारले इन्द्रजात्रका अवसरमा चित्र बनाइरहँदा खिचिएको थियो।

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल भारतको एपोलो अस्पतालमा स्वास्थ्य उपचारपछि सोमबार स्वदेश फर्किएका छन् । नेता खनाल साढे २ महिनाअघि गत असार २ गते भारत गएका थिए ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरूसँग कुरा गर्दै खनाल ।

स्वदेश फर्कने क्रममा त्रिभुवन विमानस्थलमा खनालले आफ्नो स्वास्थ्य उपचारमा सहयोग गर्ने सबैलाई हार्दिक आभार व्यक्त गरेका थिए ।