दोहोरो अंकको वृद्धि हासिल गर्ने गरी योजना ल्याउन गण्डकीलाई डा भट्टराईको सुझाव

जागृति खबर संवाददाता

पोखरा, १६ भदौ ।

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले गण्डकी प्रदेश नीति तथा योजना आयोगसँग पोखरामा छलफल गरेका छन् । आयोगका उपाध्यक्ष डा. रघु राज काफ्लेसँगै सदस्यहरु डा. सुवास अधिकारी र श्रीमाया तिम्सिना पनि छलफलमा सहभागी थिए ।

उपाध्यक्ष डा. काफ्लेले प्रदेशको आर्थिक स्थिति र भावि योजनाको बारेमा प्रकाश पारेका थिए । कोभिडजन्य माहामारीले उत्पन्न गरेको बिषम परिस्थिति माझ समसामयिक आर्थिक वस्तुस्थितिको समीक्षा गरी दिगो विकासका लक्ष र चालु पञ्‍चवर्षीय योजनाले निर्दिष्ट गरेका लक्ष्यहरु हासिल गर्ने प्रदेश सरकारको हरेक कदममा सहकार्य गर्दै आयोग अघि बढेको कुरा पनि डा. काफ्लेले अवगत गराए ।

त्यसैगरी आयोगका सदस्य श्रीमाया तिम्सिनाले सीमित साधन र श्रोतका बावजुद कृषि र घरेलु उद्योगमा लगानी बढाई रोजगारी सृजना गर्ने गरी योजनाहरु तर्जुमा गर्ने तयारी भइरहेको जानकारी गराइन । अर्का सदस्य डा. सुवास अधिकारीले पोखरा क्षेत्रीय विमानस्थललाई आर्थिक गतिविधीको केन्द्रको रूपमा रूपान्तरण गर्ने गरी योजना आयोगले योजनाहरू तर्जुमा गरिरहेको व्यहोरा जानकारी गराए ।

छलफलको अन्त्यमा डा. भट्टराईले आफ्ना भनाईहरु राखेका थिए । ‘नेपाली अर्थतन्त्र कैयौ कोसिसका बावजुद किन अन्यत्र झै कृषिबाट उद्योग हुँदै सेवा क्षेत्रमा प्रवेश गरेन होला ?’ उनको जिज्ञासा थियो । खाली निर्वाहमूखि कृषिमा आधारित भई नेपाली अर्थतन्त्र परम्परागत कृषिबाट उद्योग र सेवामा विस्तार हुनै सकेन । यसको वस्तुनिष्ठ कारण पहिचान गरेर गुणात्मक विकासको फड्को मार्न सक्ने योजना बनोस भन्‍ने उनको आशय थियो ।

गण्डकी प्रदेशअन्तर्गतका बुढीगण्डकी, कालीगण्डकी, मर्स्याङ्दी र मादी नदीहरूको कोरीडोरमा सडक, कृषि र ऊर्जाको एकिकृत विकास गर्दै विकासमा फड्को मार्न सकिने कुरामा उनको जोड थियो । यस्ता प्रकारका वृहत योजनाहरूमा आवश्यक परे वाह्‍य लगानी भित्र्याउन पनि पहल गर्नु पर्ने उनको राय थियो ।

संघीयताको मर्मअनुसार स्थानीय निकायलाई सशक्त बनाउन स्रोत वितरणमा उदार हुँदै दुई दशकमा दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्ने रणनीतिक योजना बनाउन डा. भट्टराईको सुझाव थियो । आवश्यक परे युवा अर्थशास्त्री, योजनाकार, वैज्ञानिक, तथा बुद्धिजीविहरुको टोली बनाई योजनाहरू मूर्त र ठोस योजना बनाई अघि बढ्न उनले सल्लाह दिए ।