भक्तपुरमा कांग्रेस–माओवादीमा गयो पहिरोः यति धेरै युवाहरु एमालेमा प्रवेश

जागृति खबर संवाददाता

काठमाडौँ, १२ भदौ ।

भक्तपुरमा सत्तारुढ गठबन्धनको पार्टीमा संकट पैदा हुन थालेको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमा बढ्दो विकर्षणको प्रभाव भक्तपुरमा अत्याधिक परेको छ । यसै क्रममा आज जिल्लाका कांग्रेस तथा माओवादीका दुई सयभन्दा बढी सक्रिय कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । केही समय अघि पनि भक्तपुरमा करिव पाँच सयभन्दा बढी युवाहरु एमालेमा प्रवेश गरेका थिए ।

तत्कालिन युद्ध कालमा जनमुक्ती सेनाको नेतृत्व गर्नुभएका शंकर कुमार श्रेष्ठको नेतृत्वमा माओवादी केन्द्रका एक सय २८ जनाभन्दा बढी रहेका छन् । त्यस्तै कांग्रेसलगायतका अन्य दलबाट ६० जनाभन्दा बढी युवाहरु एमालेमा प्रवेश गरेका छन् । त्यस्तै माओवादी केन्द्रका शिक्षक संगठनका नेताहरु समेत एमालेमा प्रवेश गरेका छन् ।

नवप्रवेशीले कांग्रेस, माओवादी सहितको गठबन्धन देशको लागि घातक भएको उल्लेख गर्दै मुलुकलाई दक्षिण पन्थी तथा विदेशीको हस्तक्षेपबाट बचाउन एमालेको नेतृत्व अपरिहार्य भएकाले एमालेको अभियानलाई साथ दिन पार्टी प्रवेश गरेको उल्लेख गरे । इतिहासमा पृथ्वी नारायण शाह, राजा महेन्द्र पछि केपी ओलीले नेपालको गुमेको भूमिलाई फिर्ता ल्याउने प्रकृया समेत अगाडी बढाउनु नै ओली नेतृत्वको सरकार ढल्नु भएको उल्लेख गर्दै ओली नेतृत्वको सरकारले गरेको ऐतिहासिक कामहरु तथा राष्ट्रियताको पक्षमा लिएको चट्टानी अडानलार्ई सार्थकतामा पुर्याउन एमालेको अभियानमा लागेको बताए ।

नेकपा एमाले जिल्ला संगठन कमिटीको आयोजना भएको वृहत पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीलाई पार्टीका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले खादा तथा पार्टीका जिल्ला अध्यक्ष बचन देउजाले अविर लगाएर स्वागत गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेता बस्नेतले एमाले मुलुकको मुल नेतृत्व कर्ता पार्टी भएकाले नवप्रवेशीको योग्यता क्षमता तथा दक्षताको आधारमा कांग्रेस तथा माओवादीमा लिएको जिम्मेवारीलाई यथावत पदिय वर्यादा हुने गरी सम्भव भएसम्म प्रयास गरी पार्टीको आगामी यात्राको लागि समेटेर लैजाने बताउनुभयो । नवप्रवेशीको अबको एउटै मिसन र भिजन भनेको नै मुलुकको विकास र समृद्धिको यात्रालाई लक्षीत विन्दुमा पुर्याउनु रहनुपर्नेमा जोड दिँदै उहाँले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनको लागि एमालेको कुनै विकल्प नभएको दावी गर्नुभयो ।

जनताको चाहना अनुसार केपी ओली नेतृत्वको सरकारले नयाँ नयाँ योजनाहरु ल्याई विकसित मुलुकमा रुपान्तरण गर्ने प्रकृयामा पुर्याएको स्मरण गराउँदै वर्तमान परमादेशको सरकारलाई जनमतबाट हटाउने बताउनुभयो । जनताको जनादेशभन्दा ठूलो केही हुन नसक्ने भन्दै उहाँले वर्तमान सरकार ओली नेतृत्वको भएका राम्रा कामहरुलाई रोकेर जनताको विकास प्रतिको सपनालाई तुसरापात गर्ने खेलमा लागिरहेको बताउनुभयो ।

कार्यक्रममा अध्यक्ष देउजाले वर्तमान शेरबहादुर देउवा नेतृत्वको अपवित्र गठबन्नको सरकार जनताको पक्षमा नभएको दावी गर्दै गठबन्धनको हरेक चुनौतीलाई सामना गरी असफल उद्घोष गर्नुभयो । अगाडी बढ्ने क्रममा जीउमा लागेको धुलोलाई टक्टक्याउँदै अगाडी बढ्नुपर्नेमा जोड दिँदै अध्यक्ष देउजाले आगामी निर्वाचन केन्द्रीत भएर लाग्न नवप्रवेशी तथा एमालेका कार्यकर्तालाई निर्देशन दिनुभयो ।

कार्यक्रममा जिल्ला कमिटी सदस्य सूर्यलाल श्रेष्ठ, रविन्द्र सापकोटा, जुना वस्नेत, मिलन सुवाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।