माधव समूहको नयाँ दलको नाम एमाले समाजवादी, चुनाव चिन्ह के ?

जागृति खबर संवाददाता

काठमाडौं, २ भदाै ।

नेकपा एमाले विभाजन गर्दै नयाँ दल दर्ता गर्ने घोषणा गरेको माधव कुमार नेपाल समूहले पार्टीको नाम र चुनाव चिन्ह फाइनल गराएको छ ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेसँगै निर्वाचन आयोगमा जान लागेको नेपाल समूहले पार्टीको नाम र चुनाव चिन्ह केही बेरअघि निश्चित गरेको हो । स्रोतका अनुसार नाम नेकपा एमाले (समाजवादी) राख्ने तय भएको छ भने चुनाव चिन्ह खुला–किताव राखिने भएको छ ।

एमालेका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले यसअघि माधवकुमार नेपालपक्षमा रहेका तर अहिले ओलीनिकट पुगेकाहरु केही समयपछि आफूहरुसँगै आउने बताएका छन्। बुधबार नयाँ बानेश्वरस्थित अर्याल होटलमा पत्रकारहरुसँग कुरा गर्दै खतिवडाले अहिले आँट गर्न नसक्नेहरुले पनि पछि आँट गरेर आफूहरुतिरै आउने बताए।

‘आज नआउनेहरु भोलि आउने हुन्। आजै आँट गरेर आउन सक्नुभएन भोलि आउनुहुन्छ। कन्भिन्स भएर आउनुहुन्छ। यो ठीक रहेछ भनेर आउनुहुन्छ। आज हिम्मत गर्नुभएन भनेर चिन्ता गर्नुपर्दैन। आज भइरहेको एउटा एमाले भन्ने पार्टी थियो। त्यसमा हिजो बसिरहनुभएको थियो। अर्कोतिर विद्रोह गर्न सकिएन भने त जहाँको त्यहीँ हुनुहुन्छ भनेर भन्न मात्रै सकिन्छ। तर मन, विचार र व्यवहारले त्यहाँ छैन भन्ने कुरा पनि बुझ्न सकिन्छ। त्यसैले आज नआउने भोलि आउनुहुन्छ। हामीले राम्रो काम गरेको देखेपछि आउनुहुन्छ। आँट बढेपछि आउनुहुन्छ। विकल्पमा यो अगाडि उठ्छ भन्ने आशा पलाएपछि आउनुहुन्छ। तर निश्चय नै असर इमानदार यतै आउनुहुन्छ,’ खतिवडाले भने।

खतिवडाले आज निर्वाचन आयोगमा जाने बेला वार्ता आफू पक्षका नेताहरुलाई भेटिएन भने उनीहरु पल्लो छेउमा (ओलीतिर) हुनुहुनुछ भन्ने बुझ्ने बताए। उनले केपी ओलीतिर नजान नेताहरुलाई आग्रह पनि गरे।

‘कृपया केपी ओलीको पछि नलाग्नुहोस्,’ उनले आग्रह गरे, ‘आफ्नो समूह जहाँ थियो। जहाँ इज्जत र प्रतिष्ठा पाइरहनुभएको थियो। जसलाई आन्दोलित गर्नुभयो। प्रतिगमनका विरुद्धमा उतार्नुभयो। तिनै तपाईंका साथी र कार्यकर्ता हुन्। कृपया फर्किएर आउनुस्। र वार्ताको राग छाडिदिनुस् भन्ने मेरो अनुरोध छ।’

यसअघि नेपालपक्षमा रहेका प्रभावशाली नेताहरुले विभाजनका बेला उनलाई साथ नदिएको चर्चा भइरहेको बेलामा खतिवडाले व्यक्तिको कुरा महत्त्वपूर्ण नभएको बताए। ‘को आउँछ वा आउँदैन भन्ने व्यक्तिको कुरा छैन। अजेण्डाको कुरा छ,’ उनले भने।

उनले अध्यादेश आउनु नआउनुसँग आफूहरुलाई मतलव नभएको बताए। ‘नयाँ ढंगले जाने र नेकपा एमालेलाई पुनर्गठन गर्ने, नयाँ जोश र जाँगरले यसको आदर्श जोगाउने भनेर लागेका थियौं,’ उनले भने, ‘यो मौकामा अध्यादेश पनि फ्याट्ट आइपुग्यो। अध्यादेशले के गर्ला वा नगर्ला अर्कै कुरा हो, सदुपयोग गर्नुपर्ला अर्कै कुरा हो। तर हामी नै विद्रोहको यो चरणमा आइपुगेको बेलामा अध्यादेश महत्त्वको विषय थिएन।

हाम्रा सांसद्हरु पद छाड्न तयार हुनुहुन्थ्यो। जनप्रतिनिधिहरु पद त्याग गर्न तयार हुनुहुन्थ्यो। हामी पार्टी एक गर्न जुनसुकै त्याग गर्न तयार भएको मानिसलाई अध्यादेश महत्त्वको विषय होइन। थिएन। छैन। तर, आयो। प्रयोग गर्छौं।’

उनले तयारी सकिएपछि आजै निर्वाचन आयोग जाने बताए। नाम जुध्छ कि जुध्दैन भनेर हेर्न बाँकी रहेको भए पनि पार्टीको नाम नेकपा एमाले समाजवादी र चुनाव चिह्न खुला किताब राख्ने आफूहरुको योजना रहेको उनले बताए।