अफगानिस्तानमा फसेका १४ हजार बढी नेपालीलाई तुरून्त स्वदेश फर्काउ : पूर्वप्रधानमन्त्री भट्टराई

जागृति खबर संवाददाता

काठमाडौँ, ३१ साउन ।

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी नेपाल (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराइले अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई तत्काल स्वदेश फर्काउन सरकारसँग माग गर्नुभएको छ ।

उहाँले अफगानिस्तानमा सुरक्षा संकटमा रहेका १४ हजार बढी नेपाली कामदारलाई स्वदेश फर्काउन सरकार समक्ष अनुरोध गर्नुभएको हो ।

तालिबान काबुल पसेसँगै नयाँ डर उत्पन्न भएको छ । यस बीचमा पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो अनुरोध गर्नुभएको हो । नेपाली कामदार फर्काउन सरकारले आलटाल वा वहानावाजी गर्न नहुने तर्क गर्नुभयो ।

भट्टराइले लेख्नुभएको छ, ‘अफगानिस्तानमा सुरक्षा संकटमा परेका १४ हजार बढी नेपाली कामदारलाई तुरून्त स्वदेश फर्काउन सरकारले आलटाल÷बहानावाजी गर्नुभएन । पहिलो त त्यस्ता द्वन्दग्रस्त ठाउँमा आफ्ना नागरिकलाई पठाउन र जाने वातावरण बनाउनै हुँदैन्थ्यो ।

गैसकेपछि तिनको जीवनरक्षा गर्नु राज्यको दायित्व हो । किन्तुपरन्तु नहोस् !’ अफगानिस्तानमा पछिल्लो समय तालिबान र सरकारबीच टकराव बढेको छ ।

सबै देशका सरकारहरु आफ्ना नागरिकलाई स्वदेश फर्काउने अभियानमा छन् । अमेरिकाले ३ हजार भन्दा धेरै सैनिक पठाएको छ ।

तालिबानले वर्तमान राष्ट्रपति असरफ द्दनीलाई तत्काल राजीनामा दिएर आफुहरुलाई सत्ता हस्तानतरण गर्न चेतावनी दिएको छ ।