चावहिलबाट नक्कली डिसपी पक्राउ ! एकान्त पारेर चेकजाँच गर्ने बहानामा यसरी गर्थे लुटपाट

जागृति खबर संवाददाता

काठमाडौँ, २३ साउन ।

नक्कली डिएसपी बनेर सुनका गरगहना लुटपाट गर्ने एक जना पक्राउ परेका छन्। भक्तपुर चाँगुनारायण-४ बस्दै आएका ३५ वर्षीय सीताराम गुरुङलाई प्रहरीले काठमाडौंको चावहिलबाट पक्राउ गरेको हो ।

विदेशबाट आएका व्यक्तिहरु पहिचान गरी विमानस्थलको गेटबाहिर बस्ने र एकान्त पारेर प्रहरीको डीएसपी हुँ भन्दै चेकजाँच गर्ने बहानामा सुनका गहना लुटपाट गर्ने गरेको उजुरीका आधारमा गुरुङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

नक्कली प्रहरी बनेर लुटपाट गरेको सूचना पाएपछि विशेष टोली परिचालन गरी खोजतलास गर्दा गुरूङलाई प्रहरीले चावहिलबाट नियन्त्रणमा लिएको एसएसपी अशोक सिंहले जानकारी दिए।

थप अनुसन्धान तथा कारबाहीको लागि उनलाई महाराजगञ्ज वृत्तमा राखिएको छ।