उच्च शिक्षाको लागि अमेरिका जाँदै हृदयेन्द्र

जागृति खबर संवाददाता

काठमाडौँ, २३ साउन ।

पूर्वयुवराज पारसका छोरा हृदयेन्द्र शाह उच्च शिक्षा अध्ययन गर्न अमेरिका जाने भएका छन् ।रविभवनस्थित लिंकन विद्यालयबाट कक्षा १२ सम्मको शिक्षा सकेर उनी उच्च शिक्षाका लागि अमेरिका जान लागेका हुन् ।अमेरिका जानका लागि सबै प्रक्रिया पूरा भइसकेको र केही दिनपछि नै उनी अमेरिका जाने निर्मल निवास उच्च स्रोतले जनाएको छ ।तथापि, अमेरिकाको कुन विश्वविद्यालयमा उनले अध्ययन गर्न लागेका भन्ने कुरा चाहिँ खुलाइएको छैन ।ज्यो.पं. पद्मभक्त खरेलोपाध्यायले गरेको हृदयेन्द्रको भाग्यदर्पण

विश्व हिन्दु सम्राट तथा तात्कालीन श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव तथा पूर्वीय श्री ५ बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाह सरकारको नाति तथा पूर्वीय श्री ५ युवराजाधिराज पारस वीर विक्रम शाहदेव तथा पूर्वीय श्री ५ युवराज्ञी हिमानी राज्यलक्ष्मी देवी शाह सरकारको प्रथम पुत्रको रूपमा राजगद्दी उत्तराधिकारी भएर वि.सं.२०५९ श्रावण १४ गते (३० जुलाई २००२) मंगलबार श्रावण कृष्णपक्ष षष्ठी तिथिका दिन मध्यान्ह १२/४९ बजे अमृत बेलामा पैदा होइबक्सिएका पूर्वीय श्री ५ नवराजाधिराज हृदयेन्द्र वीर विक्रम शाहदेव सरकार जन्म मिति र गतेका आधारमा २०७४ श्रावण १४ गतेदेखि १६ औं वर्षमा प्रवेश गरिबक्सेको छ ।

पूर्वीय श्री ५ नवयुवराजाधिराज हृदयेन्द्र राज्यभाव कर्मस्थानमा सूर्य, मंगल, बुध र बृहस्पति सहितका ४ ग्रह पाएर बुधादित्य राज योगमा जन्मिबक्सेको छ । यो राजयोग अझै यथावत् छ । कुनै पनि बेला राजा नभई छोड्ने छैनन्–यो हाम्रो व्यक्तिगत भनाई होइन–शास्त्रीय प्रमाण हो–शास्त्रीय भनाई हो । लघुजातकम् प्रकीर्णाध्यायः का अनुसार ‘क्षेत्राधिपसन्दृष्टे शशिनि नृपस्तत्सुहृद्भिरपि धनवान् ।’ अर्थात् जन्मसमयमा जुन राशिमा चन्द्रमा हुन्छ– त्यहाँ यदि उसको स्वामीको दृष्टि भयो भने राजा हुन्छ ।